गेजिङ: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आफ्नो संगठनात्मक संरचना सुदृढ गर्दै मानेबुङ–देन्ताम क्षेत्रस्तरीय समिति गठन गऱ्यो। क्षेत्र विधायक सुदेशकुमार सुब्बाको अगुवाइ र पार्टी अध्यक्ष प्रेमसिंह तामाङको दिशानिर्देशनमा शुरु भएको यस अभियानअन्तर्गत आज १९ नम्बर सर्दोङ–लुङ्जिक र २० नम्बर सापोङ–बङ्तेन ग्राम पञ्चायत एकाइका दुवै ब्लकमा सभाहरू सम्पन्न भए। आगामी ४ सेप्टेम्बरमा हुने हियाथाङको सभासम्म अभियानको समापन हुने लक्ष्य तय गरिएको छ। आज बिहान सर्दोङ–लुङ्जिकमा पहिलो सभा गरियो। दिउँसो दोस्रो सभा सापोङ–बङ्तेनमा गरियो। दुवै सभामा स्थानीय स्तरका पार्टी कार्यकर्ताको सहभागिता थियो। संगठनात्मक दृष्टिले महत्वपूर्ण मानिने यस अभियानमार्फत ब्लक तथा वार्डस्तरीय संरचनालाई पुनः व्यवस्थित गर्दै नयाँ ऊर्जाका साथ कार्यकर्तालाई परिचालन गर्ने लक्ष्य लिइएको छ।
कार्यक्रममा बीएलसी, डब्लुएलसि, युवा विङ, नारी विङलगायतका महत्त्वपूर्ण उपसमितिहरू गठन गरियो। गठन भएका समितिलाई विधायक सुब्बाको बाहुलीबाट औपचारिक जिम्मेवारी हस्तान्तरण गरियो। यस अवसरमा युवा संयोजक राजमान गुरुङ, संयोजक माया फुरम्बो, विधायकका ओएसडी दिवस राईले पार्टीको मूल सिद्धान्त, कार्यदिशा र संगठनलाई थप सबल बनाउनुपर्ने आवश्यकतामाथि बल दिए। विधायक सुब्बाले एसकेएम पार्टीले अघि सारेको विचार, पार्टी अध्यक्षको भिजन र मिशनलाई आत्मसात गर्दै क्षेत्रको समग्र विकासमा सबै कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले पार्टी कार्यकर्ता केवल संगठनभित्र सीमित नभई समाजमा सकारात्मक भूमिका खेल्न सक्षम हुनुपर्ने भन्दै आफ्नो भाषणलाई विकास, एकता र प्रतिबद्धतामा केन्द्रित गरेका थिए।
सभामा पार्टीका केन्द्रीय तथा राज्यस्तरीय नेतृत्वको उपस्थिति थियो।