माम्ले स्कूलमा सांस्कृतिक मेलासंगै पारम्परिक खाद्य प्रदर्शनी

IMG-20250831-WA0164

गान्तोक: दक्षिण सिक्किम नाम्ची जिल्लाअन्तर्गत, सरकारी निम्न माध्यमिक विद्यालय, माम्ले र स्कूल पूर्व विद्यार्थी संघ (अलुमनाई) को संयुक्त आयोजनमा पारम्परिक खाद्य प्रदर्शनी तथा सांस्कृतिक मेला आयोजन गरियो। यस कार्यक्रममा ४१-माम्ले ग्राम प्रशासन केन्द्रका पञ्चायत सभापति कृष्णकुमार मंगर, सम्पूर्ण पञ्चायतगण, सरकारी निम्न माध्यमिक विद्यालय, माम्लेका प्रधान अध्यापक घनश्याम प्रधान, सह-निर्देशक डीबी राई, पूर्व विद्यार्थी संघ, ग्राम प्रशासन केन्द्रका सम्पूर्ण कर्मचारीवर्ग, स्वास्थ्य कल्याण केन्द्र, माम्लेका कर्मचारी, शिक्षक शिक्षिकागण साथै विद्यार्थीवर्ग र गाउँका अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रधानाध्यापक घनश्याम प्रधानले पारम्परिक खाद्य स्टल तथा सांस्कृतिक कार्यक्रमबारे बोल्दै विद्यालयको नियमित कार्यक्रममध्ये यो कार्यक्रम अन्तर सदन प्रतियोगिता रहेको जानकारी गराए। पारम्परिक खाद्य स्टलको भ्रमण गरेपछि उपस्थित अतिथिहरुले खुशी व्यक्त गरे। यस प्रतियोगितामा पारम्परिक खाद्य स्टल, लोक गीत-नृत्य, स्थानीय लोक नृत्यका विभाजन गरी प्रस्तुत गरिएको थियो। जसमा भोटिया, लेप्चा, नेपाली जातीय समुदाय भित्र पर्ने विभिन्न जातिका पारम्परिक खाद्य सामाग्री बिक्री, वाद्य वादन, भेष-भुषा प्रदर्शनी आदि रहेको थियो। क्षेत्रीय नृत्यमा असमको बिहु नाँच, मणीपुरी नाँच, नेपाली लोक गीत, स्थानीय लोक नृत्यमा भोटिया र लेप्चा रहेको थियो। निर्णायकको भूमिका निर्वाह गरेका पञ्चायत सभापति कृष्णकुमार मंगरले विद्यालयले आधुनिकीकरणले लिप्त भएको अवस्थामा स्कूलले लिएको पहलको सराहना गरे। कार्यक्रममा चारजना निर्णायकको निर्णय र शिक्षकहरूको अगुवाईमा सम्पन्न गरिएको प्रतियोगितामा एडिसन (ग्रिन हाउस) र आइन्स्टाइन (ब्लु हाउस) मध्ये सबै श्रेणीमा उत्कृष्ट प्रदर्शन गरी एडिसन (ग्रिन हाउस) विजय बने। पूर्व विद्यार्थी संघले सबैलाई स्मृति चिन्ह अनि प्रमाण पत्र प्रदान गरेको थियो। निर्णायकगणलाई स्मृति चिन्ह प्रदान गरिएको थियो। शिक्षक सन्तोष सुब्बाद्वारा धन्यवाद ज्ञापन दिएपश्चात कार्यक्रम अन्त्य गरिएको जानकारी पूर्व विद्यार्थी संघकी महासचिव गङ्गीमाया मंगररले गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement