गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) का अध्यक्ष गणेश राईलाई लिएर विभिन्न जातीय सङ्गठनको आक्रोश सेलाएको छैन। हिजोसम्म अलग अलग जातीय सङ्गठनले उनको विरोधमा आक्रोष व्यक्त गर्दै आएको थियो भने आज विशेष गरेर जनजातिको माग गर्दै आएका १२ जात गोष्ठीको छाता सङ्गठन इकोस (इलिभेट एथेनिक्स कम्युनिटिस् अफ् सिक्किम) प्लस वान-ले पनि गणेश राईले माफी माग्नुपर्ने माग गरेको छ। राजधानीमा पत्रकार सम्मेलन डाकेर सङ्गठनका अध्यक्ष डा. एसके राईले गणेश राईले माफी माग्नुपर्ने माग गरेका हुन्।
गणेश राईको टिप्पणीले सम्पूर्ण १२ जात गोष्ठीको भावनामा ठेस पुगेको डा. राईको भनाइ रहेको छ। त्यसैले राईले माफी माग्नुपर्ने उनले बताए। उल्लेखनीय छ, जनजातिको माग सम्बन्धमा गत १८ अगस्तको दिन नयाँ दिल्लीमा बसेको एउटा सभालाई लिएर क्याप सिक्किमका नेताले टिप्पणी गरेका थिए जसलाई लिएर अहिले राज्यमा आक्रोशको लहर छाएको छ। उक्त सभा नयाँ दिल्लीमा नै आयोजना गरिनुपर्ने कारणहरू रहेको डा. राईको भनाइ रहेको छ। उनका अनुसार एथ्नोग्राफी रिपोर्ट तयार गर्नेहरूलाई सम्मानको साथ विदाई गर्न उक्त कार्यक्रम दिल्लीमा आयोजना गरिएको हो। गणेश राईले त्यस कार्यक्रममा भएको खर्चलाई लिएर जनतालाई दिग्भ्रमित पार्ने बयान दिएको उनको दावी रहेको छ। उनको भनाइ अनुसार त्यस भन्दा अघि दिल्लीको सिक्किम हाउसमा दुईवटा बैठक आयोजना गरिएको थियो तर यसपल्ट भने धेरै सहभागी रहेको कारण होटलमा कार्यक्रम आयोजना गर्नुपर्ने वाध्यता परेको थियो।
गणेश राईले जनजातिको मुद्दालाई समर्थन नगरेर उल्टा केन्द्र सरकारलाई नकारात्मक सन्देश पुऱ्याउने उद्देश्यले वयानबाजी गरिरहेको डा. एसके राईको भनाइ रहेको छ। यसको उनले इकोस प्सल वान-को पक्षमा कड़ा आपत्ति जनाएका छन्। यसको साथै उनले गणेश राईले जनजातिको मुद्दामा अहिलेसम्म के कस्तो पहल गरेको छ भन्दै प्रश्न पनि तेर्साएका छन्।
यसै क्रममा महासचिव एमके प्रधानले यदि गणेश राईको वयानको कारण १२ जातिले जनजातिको मान्यता पाउनबाट वञ्चित बनेको खण्डमा यसको सम्पूर्ण जिम्मेवारी राईले नै लिनुपर्ने बताए। यसरी नै अखिल सिक्किम गुरूङ (तमु) बोद्ध सङ्घका अध्यक्ष खिलवर्ण गुरूङले क्यापका अध्यक्ष गणेश राईलाई यस मुद्दालाई राजनीतिकरण नगर्ने आग्रह गरे।