सोनादा: गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमान लोवर सोनादाले आफ्नो 25 औं वर्ष पूरा गरेकोमा क्षेत्र एवम् क्षेत्रवासीलाई लिएर एउटा नशामुक्त जनचेतना कार्यक्रमको आयोजना गरियो। वर्तमान समयमा हाम्रो गाउँ समाज जति विकसित बन्दै गइरहेको छ त्यति नै समाजका युवाहरूमा एक प्रकारको विकृति पनि आइरहेको छ। समाजका युवाहरू शिक्षित त बन्दैछन् तर कतिपय युवाहरू अनैतिक, समाज विरोधी नशालु पदार्थहरूमा संलग्न भएकोले आउने पिँढीलाई समेत प्रभावित पार्न सकिने परिवेश र परिस्थिति देखा पर्न गएको छ। यही विषयलाई विशेष विषय बनाउँदै आईतबार सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रेमुस भोटिया र सोनादा आउट पोष्टका अफिसर इन चार्ज योगेश ठकुरी लगायत डीएलएसएका प्रतिनिधिहरू अनि स्थानीय छवटा समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। समाजसेवी अर्जुन तामाङको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमलाई स्वागत सम्बोधन दिलीप प्रधानले गरेका थिए। सुदर्शन राईद्वारा सञ्चालित यस कार्यक्रमलाई नवीन गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमि राखेका थिए। समारोहलाई डीएलएसएबाट उमा तिवारी, अनमोल प्रधान,केन्द्र थापाले सम्बोधन गर्दै वर्तमान समयमा नशालु पदार्थको सेवन र ओसारपसार गर्ने काम हाम्रै केही युवाहरूबाट भइरहेको तथा यसको रोकथाम सही समयमा हुन नसके समाजको भविष्य राम्रो हुन नसक्ने बताएका छन्। वक्ताहरूले समाजका यस्ता व्यक्तिहरूलाई चिन्हित गराएर तुरुन्तै नजिकैको पुलिस चौकीमा खबर गर्ने बताउँदै हालै मात्र सोनादा आउट पोष्टले यस विषयमा धेरै प्रशसंनीय पहल गरिरहेकोमा बधाई दिए।सभालाई वरिष्ठ समाजसेवी प्रेमुश भोटिया र सोनादा पुलिस आउट पोष्ट अधिकारी योगेश ठकुरीले नशालु पदार्थ सेवनबाट हुने नोक्सान र समस्याबारे सचेतनामूलक मन्तव्य राखेका थिए। यस अवसरमा गैरी गाउँ ग्राम सुधार समाज नयाँ कमान लोवर सोनादाले समाजका संस्थापक सदस्यहरू र विभिन्न विधाहरूमा विशिष्ट योगदान दिनेहरूलाई सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको छ। कार्यक्रममा सागरमाथा ब्याण्डको पनि प्रस्तुति रहेको थियो भने समाजका नानीहरूको नृत्य प्रस्तुत गरेका थिए भने सुनिल कोइरालाद्वारा स्याक्सोफोनको धुन प्रस्तुत गरेका थिए।