खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित ग्राम कल्याण समितिको आयोजनामा स्व. पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भएको उक्त सामुहिक नृत्य प्रतियोगिता कार्यक्रमको अध्यक्षता ग्राम कल्याण समितिको सभापति जेबी गुरुङको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिशिर राई, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्याहरु, गोपाल योञ्जन संगीत सम्मान प्रापक संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईली, गौरव मञ्च तीनधारेको संयोजक सुप्रेम छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा लोक नृत्य प्रतियोगिताको निर्णायकको रुपमा अरुणा सुन्दास र अनुपमा घतानी उपस्थित रहेका थिए। अतिथिहरुका बाहुलीबाट सरस्वती माताको तस्वीर र स्व पेम्बा मोक्तानको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा गायक राकेश लामा, गायक महेश सेवा र कर्म मोक्तानले युगल गीत प्रस्तुत गरेका थिए। ग्राम कल्याण समितिको सचिव सञ्जीव मंगरले स्वागत सम्भाषण राखेको कार्यक्रममा सारेगपम लिटल च्याम्प नेपालमा फाइनलमा पुग्न सफल पानीघट्टा निवासी श्रेयासी परिवारले पनि प्रस्तुति दिएका थिए। कार्यक्रममा तीनधारे क्षेत्रका पाँचवटा समाजका नानीहरुले सामुहिक लोक नृत्य प्रतियोगितामा भाग लिएका थिए जसमा प्रथम जनसेवा संघ राजबारी, दोस्रो युवा ज्योति संघ सत्र माइल र तेस्रो ग्राम कल्याण समिति क्रिकेट बजार भएका छन् भने चौथो गुराँस संघ र पाँचौं मित्र संघ गोलाई पाखा भएका छन्। यसै कार्यक्रममा क्यारिङ ह्याण्डका शिशिर राईलाई ग्राम कल्याण समितिको तर्फबाट सम्मान जनाइएको छ। यसको साथै समाजसेवी सतीश राई र यस वर्षको उच्चत्तर माध्यमिक परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने समाजका विद्यार्थी क्षितिज गुरुङलाई पनि सम्मान जनाइएको छ। तीनैजनाको सम्मान पत्र सृजना तामाङले पशन गरेका थिए यस अवसरमा शिशिर राईले बिमारीहरुको उपचार विषयमा क्यारिङ ह्याण्ड गैर सरकारी संस्थाले गरिरहेको विभिन्न सहयोगहरु विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए। कार्यक्रममा नानी आहानराज राणाले साङ्गीतिक प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन ग्राम कल्याण समिति क्रिकेट बजारकी कोषाध्यक्षा शिक्षा मंगरले राखेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्री र सभाध्यक्ष जेबी गुरूङले सम्बोधन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ग्राम कल्याण समिति क्रिकेट बजारको सचिव सञ्जीव मंगरले ग्राम कल्याण समिति क्रिकेट बजारको आयोजनामा स्व. पेम्बा मोक्तानको स्मृतिमा सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गरिएको र यस कार्यक्रमलाई स्व. पेम्बा मोक्तानको परिवारले प्रायोजना गरेको जानकारी गराउँदै कार्यक्रममा सहभागी समाजहरु साथै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

उल्लेखनीय छ तीनधारे क्षेत्रका समाजसेवी तथा वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको पूर्व सभापति पेम्बा मोक्तानको निधन २२ नोभेम्बर २०१४ मा भएको थियो।