खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा अवस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको प्रमुख लामा चन्द्रवीर लामा (स्याङदेन म्हेम्हे) को १०० वर्षको जन्म दिन पालन गरिने भएको छ। २६ सेप्टेम्बर सन् १९२२ मा जन्मेका स्याङ्देन म्हेम्हे अागामी २६ सेप्टेम्बरको दिन १०० वर्ष पूरा पुग्ने भएकोले उनको परिवार अनि बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिले जन्म दिन मनाउने भएको छ। चन्द्रवीर लामा उर्फ स्याङदेन म्हेम्हेले विगत ४० वर्षभन्दा लामो समयदेखि लामाको कार्य गरिरहेका छन् भने यसावधि उनले आफ्नो गाउँहरू लगायत, खरसाङ, दार्जिलिङ, मंग्पु, कालेबुङ, सिक्किम र नेपालसम्मकाहरूलाई चेला बनाईसकेका छन्। उनले आफ्नो बौध्द शिक्षा प्रदान गरेर धेरैलाई चेला बनाएका छन् भने १०० वर्षको उमेरसम्म पनि यो कार्य जारी राखेका छन्। उनले आफ्नो गुरु प्रथमपल्ट नेपालको डुम्जन लामा ( लालवीर लामा) बाट बौध्द ज्ञान प्राप्त गरेका थिए अनि ९ वर्षको उमेरदेखि नै बौध्द धर्मके ज्ञान सिक्ने कार्य थालेका थिए। उनले आफ्नो गुरु बितेपछि लामाहरूको कमी हुन थालेपछि आफ्नो चेलाहरू बनाउन शुरु गरेका थिए भने लगातार रूपमा विभिन्न क्षेत्रहरूबाट आएका आफ्ना चेलाहरूलाई गुफामा राखेर बौध्द शिक्षा प्रदान गर्ने कार्य गरिरहेका छन्। यसै अवधि उनले तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा पनि प्रमुख लामाको रूपमा कार्य गरेका थिए भने सन् १९९७ देखि बाघमारा बस्तीमा नै ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको निर्माण गरेर प्रमुख लामाको रूपमा कार्य गरिरहेका छन्। स्याङदेन म्हेम्हे उर्फ चन्द्रवीर लामाले सन् १९६२ सालमा भारत चीन युध्दको समय बर्मामा गोर्खा सेनाको तर्फबाट चीनविरूध्द युध्द लडे़को पनि उनको कान्छा छोरा विकास लामाले बताएका छन्। उनै लामा म्हेम्हेको १०० वर्ष पुगेको अवसरमा जन्म दिन धुमधामले पालन गरिने भएको छ।

उक्त विषयमा गुम्बा सञ्चालन समितिको सभा वर्तमान सभापति आनन्द तामाङको अध्यक्षतामा बसेर प्रमुख लामा स्याङदेन म्हेम्हेको १००औं जन्मदिन पालन गर्ने निर्णय लिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको पूर्व सभापति रञ्जन तामाङले स्याङदेन म्हेम्हेको १००औं जन्म दिन आगामी १० गते असोज अर्थात् २६ सेप्टेम्बरको दिन गुम्बा परिसरमा नै परिवार पक्ष र गुम्बा सञ्चालन समिति मिलेर पालन गरिने भएको जानकारी गराएका छन्। उनले उक्त दिन सबैले उपस्थित भएर जन्म दिन मनाउन आह्वान् गरेका छन्। उनले बताए अनुसार आगामी २५ सेप्टेम्बरको दिन गुम्बामा पूजा अर्चना गरिने अनि २६ सेप्टेम्बरको दिन स्याङदेन म्हेम्हेको १००औं जन्म दिन पालन गरिने भएको छ। उक्त दिन जतिजना पनि म्हेम्हेको चेलाहरू छन्, उनीहरू सबैलाई २६ सेप्टेम्बरको दिन उपस्थित भएर जन्म दिन मनाउने आह्वान् गुम्बा सञ्चालन समितिले गरेका छन्। जन्मदिनको दिन छिमी बाल्ने साथै स्याङदेन म्हेम्हेको अगुवाईमा सबैलाई वाङ वितरण गरिने कार्यक्रम रहेको पनि पूर्व सभापति रञ्जन तामाङले बताए। आजको सभामा बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बाको सञ्चालन समितिको वर्तमान सभापति आनन्द तामाङ, सचिव विकास लामा, कोषाध्यक्ष अम्बर लामा, सल्लाहकार पाल्साङ तामाङ, सदस्य दावा लामा, कुसाङ लामा, पूर्व सभापति रञ्जन तामाङ, पूर्व सचिव सनबहादुर तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए।