गेजिङ: मानेबुङ-देन्तामलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउने उद्देश्यलाई लिएर आज उत्तरेमा दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रनबारे बैठक बस्यो।
राज्य सरकारको पहलमा यस क्षेत्रलाई पर्यटन उद्योगको रुपमा विस्तार गर्ने लक्ष्य राखेर देन्ताम पर्यटन विकास समाजले पर्यटन प्रवर्द्धनमाथि सक्रिय सहयोग गर्दै आएको छ। गत वर्ष पहिलोपटक आयोजन गरिएको १० के परीक्षण रनमा १८ वर्षका युवा देखि ८१ वर्षका वृद्धसम्मको सहभागिता थियो। यसपटक अझ व्यवस्थित बनाउन सबैतर्फ ध्यान दिएको छ। विधायक सुरेसकुमार सुब्बाले आफ्नो सम्बोधनमा परीक्षण रनलाई “पूर्ण कार्यान्वयन अघि गुणस्तर जाँच गर्ने अभ्यास” भन्दै, यसले युवा, क्षेत्रको विकास, पर्यटन अनुशासन, स्वास्थ्य र डिप्रेसनजस्ता समस्याबाट टाढा राख्ने बताए। भारत-नेपाल सिमावर्ती क्षेत्रको पर्यटन बिकास बडेर जाने दाबी गरे। सभाले आगामी २ नोभेम्बर २०२५ मा दोस्रो चिवाभञ्ज्याङ् ट्रायल रन गर्ने निर्णय गरेको छ। प्रतियोगी वर्गीकरण आगामी बैठकमा मात्र हुनेछ। सभामा विधायक सुब्बासहित महकुमा अधिकारी एनके कार्की, मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिरेन्द्र ताम्लिङ, विभिन्न विभागीय अधिकारीहरु, संघ संस्थाका प्रतिनिधिहरु, म्याराथनम्यान अमर सुब्बा, सीमा सुरक्षा बलका अधिकारी, पुलिस अधिकारी, ग्राम पञ्चायत प्रतिनिधि, स्थानीय पर्यटन व्यवसायी र सत्तारूढ एसकेएम पार्टीका युवा कार्यकर्ताको उपस्थिति थियो। यसरी दोस्रो चिवाभञ्ज्याङ् १० के ट्रायल रनलाई सफल बनाउन नियमवलीबारे छलफल गरियो।