खरसाङ: भारतीय गोर्खा परिसंघको खरसाङ क्षेत्रीय समितिको आयोजनामा मतदाता सूचीमा विशेष गहन पुनर्निरीक्षण, राष्ट्रिय जनगणना, पाँच डेसिमल जमीन, गोर्खा जातिको अस्तित्व विषयमा एउटा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङको गोर्खा जनपुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। भारतीय गोर्खा परिसंघका खरसाङ क्षेत्रीय समितिको अध्यक्ष सहदेव चामलिङको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा दार्जीलिङ, कालेबुङ अनि खरसाङबाट विज्ञ व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रममा भारत सरकारको जनगणना विभागका अवकाशप्राप्त उपनिर्देशक मोहन कुमार लावार, पश्चिम बंगाल सरकारको भूमि अनि भूमि सुधार विभागका अकाशप्राप्त उपसचिव ठेण्डुप शेर्पा, पश्चिम बंगाल सरकारको श्रम विभागका अवकाशप्राप्त अधिकारी बीपी छेत्री अनि अन्य विज्ञहरू उपस्थित रहेका थिए। उक्त विज्ञ व्यक्तिहरुले मतदाता सूचीमा विशेष गहन पुनर्निरीक्षण (एसआईआर), राष्ट्रिय जनगणना, पाँच डेसिमल जमीन, चिया बगानका श्रमिकहरु र श्रम कानुन, दार्जीलिङ, कालेबुङ, खरसाङ र तराईको जमीनको अवस्था, गोर्खा जातिको अस्तित्व विषयमा तथ्यमूलक जानकारीहरू प्रदान गरेका थिए। उक्त कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा परिसंघका खरसाङ क्षेत्रीय समितिको अध्यक्ष सहदेव चामलिङ र महासचिव लक्ष्मण शर्माले विस्तृत रुपमा जानकारी गराएका छन्।