खरसाङ: गोपाल योञ्जन संगीत सम्मान यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा २०२३ देखि शुरु गरिएको वाग्येयकार गोपाल योञ्जन संगीत सम्मान यसपाली तीनधारे क्षेत्रका संगीतकार एंव संगीतका गुरुजी साथै गायक बरुण रसाइली र तीनधारे चियाबारी निवासी गीतकार सुकुमार बराईलीलाई प्रदान गरिएको छ। उक्त पुरस्कार गौरव मञ्च तीनधारेको आयोजनामा शनिवार तीनधारेको महात्मा गाँधी हलमा आयोजित ८२औं गोपाल योञ्जन जन्म जयन्ती समारोहमा प्रदान गरिएको छ। दुवैलाई सभाध्यक्ष बिजय गुरुङ र प्रमुख अतिथि वरिष्ठ संगीतकार बसन्त छेत्रीको बाहुलीबाट खदार्पणसहित शल ओढाएर जातीय टोपी पहिराएर अनि सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै दुवैलाई प्रायोजकहरु क्रमैले सागरमणि वाईबा र ज्योति मुखियाले दिवगंत छोरा लवाङमणि बाईबाको स्मृतिमा अनि पञ्चायत सदस्य अजय विश्वकर्म र उनकी पत्नीले आफ्ना दिवंगत माता पिता स्व संगीता विश्वकर्म र स्व रामबहादुर विश्वकर्मको स्मृतिमा प्रायोजित काष्ठ कलामा रहेको सारङ्गी प्रदान गरेर सम्मान जनाइएको छ। संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीको परिचय र सम्मान पत्र सञ्चालनकर्ता युवराज सुन्दासले पठन गरेका थिए। उक्त गोपाल योञ्जन संगीत सम्मानपछि सम्मानित संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीसित युवराज सुन्दासले छोटो विमर्श पनि गरेका थिए। संगीतकार, गायक एवं संगीतका गुरुजी बरुण रसाइलीको विभिन्न सांगीतिक कोशेलीहरु दर्शकहरुलाई दिईसकेका छन्। उनको गजलको एल्बम ‘निखार’ प्रकाशित छन् भने भजन संगालो ‘भजन पुष्प चरणमा’ अनि ‘साई गंगा अनि सामुहिक’ पनि प्रकाशित छन्। त्यसरी नै उनले विभिन्न गीतहरु विभिन्न एल्बमहरुमा आफ्नो स्वर र संगीत दिई सकेका छन्। उनी आकाशवाणी खरसाङको मान्यताप्राप्त गायक पनि हुन् बरुण रसाइलीले सुर गुञ्जन संगीत महाविद्यालय तीनधारे र सुकनामा सञ्चालन गरिरहेका छन्। उनले ७० को दशकदेखि नै नेपाली संगीतमा विशिष्ट योगदान दिन्दै आईरहेका छन्। त्यसरी नै तीनधारेका वरिष्ठ गीतकार सुकुमार बराईलीको गीत संग्रह ‘आमा रोएकी चियाबारीमा’ प्रकाशित छन् भने विभिन्न गायक गायिकाहरुले उनको शब्दमा रहेको गीत गाईसकेका छन् भने विभिन्न संगीतकारहरुले उनको शब्दमा रहेको गीतहरुलाई संगीत भरिसकेका छन्। उनी अहिलेका युवा पुस्ताका लागि प्रेरक साथै प्रेरणाका स्रोत पनि हुन्। गौरव मञ्च तीनधारेले २०२३ देखि स्थानीय संगीतकार र कलाकारहरुलाई सम्मान जनाउने क्रम शुरु गरेका थिए।

यस अन्तर्गत पहिलोपटक २०२३ मा संगीतकार सुरेन बम्जनलाई यो सम्मान प्रदान गरिएको थियो। त्यसपछि गत वर्ष २०२४ मा वरिष्ठ गायक संगीतकारहरु क्रमैले गोपाल गजमेर, गौतम मोक्तान र चन्दु भुसाललाई प्रदान गरिएको थियो। यसपाली यो सम्मान तीनधारेकै संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिएको छ।









