खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार चियाबारी युनिटको आयोजनामा मालुटार चियाबारीमा गेट मिटिङ आयोजना गरेर यसपाली बीस प्रतिशत बोनसको पहल गरेकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उक्त गेट मिटिङ शिवखोला ग्राम पञ्चायतको मालुटार क्षेत्रका पञ्चायत सदस्या सिर्जना छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त गेट मिटिङमा चियाबारी श्रमिकहरुलाई मालुटार चियाबारी युनिटको सभापति प्रह्लाद छेत्रीले सम्बोधन गर्दै यसपाली चियाबारी श्रमिकहरुको पूजा बोनस बीस प्रतिशत गराउन पहल गरिदिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यसपाली बीस प्रतिशत बोनसको लागि राज्य सरकारको श्रम मन्त्रालयले एडभाइजरी जारी गरेकोमा खुशी व्यक्त गरेका छन्। उनले यो बीस प्रतिशतको बोनस चियाबारी श्रमिकहरुलाई पूजा अघि नै वितरण गरिनु पर्ने माग राखेका छन्। यस गेट मिटिङमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मालुटार चियाबारी युनिट कमिटीको उपाध्यक्ष पूर्ण लामा पनि उपस्थित रहेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरु, युवा शक्ति र नारी शक्तिको प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जानकारी दिएका छन्।