गान्तोक: हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले सिक्किमलाई जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग (एनएच १०) को अति नै सोचनीय र खतरनाक स्थितिलाई लिएर केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीलाई पत्र लेखेका छन्। भोटियाले पत्रमा केन्द्रिय मन्त्रीको ध्यान आकर्षित गर्दै भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई मानिसहरूको जीवन रक्षाका लागि एनएच १० मरम्मति गर्ने निर्देश दिन अनुरोध गरेका छन्। हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्ष भोटियाले केन्द्रिय मन्त्री नितिन गडकरीलाई पत्रमा सिक्किमलाई जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग (सिलगढ़ी-सिक्किम) को सोचनीय र खतरनाक स्थितिबारे अवगत गराएका छन्। उनले एनसीआरबीको रिपोर्ट साझा गर्दै रिपोर्ट अनुसार वर्ष २०२१ मा सिक्किममा सड़क दुर्घटना १३ प्रतिशत वृद्धि भएको जानकारी गराएका छन्। वर्ष २०२० मा १०८ जनाको सड़क दुर्घटनामा मृत्यु भएको थियो जुन वर्ष २०२१ मा बढ़ेर १२२ पुगेको कुरा पत्रमा उल्लेख छ।
उनले मई २०२२ सम्म ३३ जनाको मृत्यु र ७७ जना गम्भीर रूपमा घाइते भइसकेको कुरा पनि पत्रमा बताएका छन्। एक हप्ता अघि केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास राज्य मन्त्री रामेश्वर तेलीले सिक्किम भ्रमण अवधि एनएच १० को स्थिति एकदमै खराब रहेको बताउॅंदै यस विषयमा सम्बन्धित केन्द्रिय मन्त्रीलाई पत्राचार गर्ने कुरा गरेको उनले अवगत गराएका छन्। उनले एनएच १० मा मानिसहरूको जीवनको सुरक्षा सुनिश्चित गर्न एनएचएआईलाई राजमार्ग मरम्मति गर्ने निर्देश दिन गडकरी समक्ष अनुरोध गरेका छन्।










