खरसाङ: खरसाङ क्षेत्रका सामाजिक कार्यकर्ता, पूर्व शिक्षक एंव खरसाङ महकुमा खेलकूद संघको कोषाध्यक्ष दुर्गा सिंह छेत्रीको निधनमा खरसाङ महकुमा खेलकूद संघद्वारा शोक सभाको आयोजना गरेको छ। संघको कोषाध्यक्ष एंव खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुमा संलग्न रहेर सक्रिय कार्य गरिरहेका दुर्गा सिंह छेत्रीको हिजो राती दिल्लीमा ७८ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनमा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा शोक सभा आयोजना गरेर उनको चिर आत्मा शान्तिको लागि मौन धारण पनि गरिएको जानकारी प्राप्त भएको छ। उक्त शोक सभामा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जन, उप सभापति फुर्बा योञ्जन, सचिव निर्मल गुरुङ, सह सचिव दिव्यत्तम अधिकारी लगायत अन्यहरुले संघको कोषाध्यक्ष दुर्गा सिंह छेत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा शोक समवेदना प्रकट गरिएको छ। कोषाध्यक्ष दुर्गा सिंह छेत्रीले खरसाङ महकुमा खेलकूद संघलाई दिएको विशिष्ट योगदानलाई सदैव सम्झनामा रहने वक्ताहरुले बताएका छन्।









