ड्रग्स दुरूपयोग र नियन्त्रणबारे समन्वय सभा

IMG-20250827-WA0189

गेजिङ: गेजिङ जिल्लाका युवाहरूमा नशालुपदार्थको प्रयोग र नियन्त्रणको निम्ति नार्कोटिक्सको समन्वय सभा आज जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त समस्यालाई समाधान गर्नको निम्ति संयुक्तरूपमा कार्य गर्नुपर्ने विषयलाई लिएर सभा सम्पन्न भयो। यस सभाको अध्यक्षता गेजिङ जिल्लाका जिल्लापाल एवम एनसीओआरडी समितिका अध्यक्ष तेञ्जिङ डी.डेञ्जोङपाले गरेका थिए भने उक्त अवसरमा पुलिस अधिक्षक छिरिङ शेर्पा, महकुमा अधिकारी सन्देश सुब्बा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। आजको सभामा विशेष गरेर गत दिनमा सम्पन्न सभामा लिएको निर्णयहरूको कार्यावन्यनबारे समीक्षा गरिय। सभालाई सम्बोधन गर्दै महकुमा अधिकारी सुब्बाले नशालु पदार्थविरूद्ध विभागले शुरू गरेको पहललाई यथावत राख्न र अझ यसलाई प्रभावकारी ढङ्गमा कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरे। कार्यालय प्रमुख र प्रतिनिधिहरूले जिल्लामा नशालु पदार्थको ओसारपसार र यसको दुरुपयोगलाई नियन्त्रण गर्न संयुक्त कार्ययोजना अन्तर्गत गरिएका उपायबारेमा जानकारी गराए। सोही क्रममा जिल्लापालले नशालु पदार्थको सेवन, धन्दालाई रोकथाम गर्नको निम्ति पुलिसले गरेको पहलको प्रशंसा गरे। उनले गेजिङ जिल्ला मात्र नभए सिक्किमलाई नै नशामुक्त बनाउनु पर्ने दिशामा विभाग साथै पुलिस प्रशासनले काम गरिरहेको अवगत गराए। नशालु पदार्थ सेवन र धन्दालाई लिएर पुलिस साथै विभागले समन्वय राखेर काम गर्दै आइरहेको अवगत गराए। यस अवसरमा गेजिङ जिल्ला अस्पतालमा सीएमओ डा. नाम्गे भोटिया, डीएफओ जिग्मी छेवाङ भोटिया, एसएसबी ३६ बटालियनका डीसी प्रवेज आसलाम अन्सारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement