राजधानीमा राष्ट्रीय खेलकुद दिवसको भव्य तयारी

IMG-20250827-WA0187

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको प्रमुख भातृ संगठन खेलकुद प्रकोष्ठले आगामी २९ अगस्तको राजधानीस्थित पाल्जोर स्टेडियममा राष्ट्रीय खेलकूद दिवस पालन गर्ने भएको छ। आज राजधानीको तिब्बत पथस्थित एसकेएम पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका सल्लाहकार एवं एसकेएम पार्टीका कार्यकारी उपाध्यक्ष कुङ्गा निमा लेप्चाले उक्त जानकारी गराएका हुन्। उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने ५० जना विशिष्ट व्यक्तिलाई अभिनन्दन गरिने उनले बताए। उनले हकी खेलका जादुगर मानिने मेजर ध्यानचन्दको स्मरणमा मनाइने राष्ट्रिय खेलकुद दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पारे। एसकेएम सरकारले राज्यमा खेलकुद क्षेत्रको निम्ति तयार गरेको पूर्वाधार विकाससँगै खेलाडीहरूलाई प्रोत्साहन गर्दै आईरहेको दाबी गरे। राज्यमा भएका विविध खेल पूर्वाधारहरूको निर्माणबारे बताउँदै खेलकुद प्रकोष्ठद्वारा सञ्चालित कार्यहरुबारे पनि जानकारी गराए। प्रकोष्ठका उपाध्यक्ष तथा विधायक तेञ्जिङ नोर्बू लाम्थाले राष्ट्रिय खेल दिवसको औचित्यमाथि प्रकाश पार्दै उक्त दिन सहभागी बन्न सबैलाई आग्रह गरे। एसकेएम सरकार गठन भएपछि राज्यमा खेलकुद क्षेत्रमा धेरै विकास भएर गएको दाबी गर्दै आज धेरै प्रतिभाहरूले राष्ट्रीय र अन्तर्राष्ट्रियस्तरमा राज्यको नाम रोशन पारेको उल्लेख गरे। उनले प्रकोष्ठद्वारा खेलकुद पूर्वाधारहरूको विकास र खेलप्रति सदैव प्रोत्साहन गरेको अवगत गराए। यसैगरी खेलकुद प्रकोष्ठका अध्यक्ष तथा राज्य खेल कल्याण बोर्डका अध्यक्ष रिञ्जिङ वाङ्गेल छोपेलले राष्ट्रीय खेल दिवसलाई भव्यताका साथ सफल पार्न सबैलाई उपस्थितिको आग्रह गरे। महासचिव निर्मल छेत्रीले सिक्किम राज्य स्थापनाको ५०औं बर्षगाँठको अवसरमा आयोजन हुने यस लर्षको राष्ट्रीय खेलकुद दिवसलाई उत्साहका साथ पालन गरिने जानकारी गराउँदै खेल मन्त्रालयको ‘हर गल्ली हर मैदान खेले सारा हिन्दुस्तान नारा’ को उल्लेख गरे। उनले थप जानकारी गराएअनुसार बिहान ८ देखि ११ बजीसम्म राज्य खेलकूद एवम युवा मामिला विभागको तत्वावधानमा विभिन्न प्रकारका गतिविधि आयोजना गरिने बताए। अपरान्ह एकदेखि पाँच बजेसम्म एसकेएम खेलकुद प्रकोष्ठको आयोजनामा राष्ट्रिय खेलकुद दिवस पाल्जोर स्टेडियममा पालन गरिने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement