खरसाङको इतिहासमा पहिलो पटक १६० युनिट रगत संकलन
खरसाङ: दादी प्रकाशमणीजीको स्मृतिमा ब्रह्माकुमारीज खरसाङद्वारा आयोजित मेगा रक्तदान शिविर अत्यन्तै सफल रहेको आयोजक समितिले बताएको छ। उक्त रक्तदान शिविरमा विशेषगरी १८-१९ वर्षका नयाँ युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। यस रक्तदान शिविरमा जम्मा १६० युनिट रगत संकलन भएको छ जुन खरसाङको इतिहासमा पहिलो पटक हो। यो ब्रह्माकुमारीजी संस्था र सम्पूर्ण खरसाङ क्षेत्रका लागि गर्वको विषय बनेको पनि बताइएको छ। यसमा ३७ युनिट रगत ईण्डियन रेड क्रस सोसाइटी खरसाङले खरसाङ महकुमा अस्पतालको सह कार्यमा संकलन गरेको थियो भने १२३ युनिट रगत लाइन्स क्लब खरसाङले महाराजा अग्रसर अस्पतालसॅंगको सहकार्यमा संकलन गरेको जानकारी प्राप्त भएको छ। कार्यक्रमको उद्घाटन खरसाङ नगरपालिका उपाध्यक्ष सुबाष प्रधान तथा ब्रह्माकुमारीज खरसाङकी सेन्टर–इन–चार्ज बी.के. दुर्गाले संयुक्त रूपमा गरेका थिए। यस ऐतिहासिक रक्तदान शिविरमा खरसाङ नगरसँगै सोनादा, दिलाराम र नजिकका अन्य क्षेत्रहरूबाट पनि ठूलो संख्यामा मानिसहरूले सहभागिता जनाए र रक्तदान गरेर मानवताको सेवा गर्ने सन्देश दिएका थिए।

यो सफल आयोजन समाजका विभिन्न वर्गहरूको सक्रिय सहभागिताबाट सम्भव भएको हो र यसले रक्तदानलाई महान दान (महादान) को रूपमा स्थापित गरेको जानकारी प्राप्त भएको छ।