दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना एंव सांस्कृतिक विभाग अनि नेपाली भाषा दिवस समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न भइरहेको सप्ताहव्यापी भाषा दिवस कार्यक्रमको अवसरमा स्वरचित कविता लेखन र वाचन प्रतियोगिता सम्पन्न भयो। यस सप्ताहव्यापी कार्यक्रमका अध्यक्ष विजयकुमार राई थिए। यस कविता वाचन प्रतियोगिता जीटीए स्तरीय अन्तर विद्यालय कक्षा ९ देखि १२ का विद्यार्थीवर्गमाझ सम्पन्न भइरहेका छन्। जीटीए क्षेत्रका कालेबुङ जिल्ला अनि मिरिक, खरसाङ महकुमा स्तरमा अघिबाटै यो प्रतियोगिताको प्रथम चरण सम्पन्न भइसकेका छन् भने गोरूबथान अनि दार्जिलिङ महकुमामा प्रथम चरणको छनौट प्रक्रिया सम्पन्न भयो।

अब यी चार महकुमा र कालेबुङ जिल्लाबाट छनौट भएका दुई दुईजना विद्यार्थीहरूलाई लिएर आगामी ३० अगस्तको दिन दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा फाइनल प्रतियोगिता सम्पन्न हुनेछ भने ३१ अगस्त भाषा दिवसको समापन समारोहमा विजेतालाई भव्य कार्यक्रममा सम्मान गरिने छ। त्यसै दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, सूचना अनि सांस्कृतिक विभागबाट प्रदान गरिने भाषा सेवा सम्मान भाषा आन्दोलनका अग्रणी व्यक्तित्व आर बी राईलाई प्रदान गरिने छ। दार्जिलिङमा सम्पन्न पहिलो चरणको प्रतियोगितामा १० वटा विद्यालयका प्रतियोगी विद्यार्थीवर्गले भाग लिएका थिए भने दार्जिलिङ महकुमा स्तरमा सनराइस् विद्यालय लेबुङका विद्यार्थी अनिशा राई प्रथम भईन भने सन्त टेसेजा उच्चतर माध्यमिक विद्यालयका राधिका प्रधान दोस्रो भईन। यस प्रतियोगिताको निर्णायक मण्डलीमा डा. योगेश पन्त, कवि तथा शिक्षक नरेश कटुवाल अनि कवि, लेखिका नम्रता संस्कार रहेकी थिइन्।

अब यी दुवै विद्यार्थीले दार्जिलिङ महकुमालाई प्रतिनिधित्व गरेर जीटीए स्तरीय फाइनल प्रतियोगितामा अंशग्रहण गर्नेछन् भनी भाषा दिवस समारोह समितिका संयोजक प्रा. सदीप प्रधानले जनाएका छन्।