तकदाहमा जीटीए क्षेत्रकै पहिलो ईञ्जिनियरिङ कलेज दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टेक्नोलोजी एण्ड म्यानेजमेन्ट केन्द्रको उदघाटन

IMG-20250827-WA0141

तकदाह: दार्जिलिङ पहाडको पहिलो ईञ्जिनियरिङ कलेज तकदाहमा आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उदघाटन गरिएको छ। एनएचपीसीको सहयोगमा तकदाहमा लगभग ४० करोडको लागतमा निर्माण गरिएको दार्जिलिङ पार्वत्य प्रविधि अनि प्रबन्धन प्रतिष्ठान (दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टेक्नोलोजी एण्ड म्यानेजमेन्ट) केन्द्रको उदघाटन जीटीए प्रमुख अनित थापाले रिबन काटेर उदघाटन गरेका छन्। सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भानुकान्त घिसिङको सञ्चालनमा सम्पन्न भएको उक्त उदघाटन कार्यक्रममा स्वागत सम्भाषण जीटीएको सचिव डब्ल्युबीसीएस सुदेन छिरिङ भोटियाले राखेका थिए। जीटीएको अभियान्त्रिकी विभाग र शिक्षा विभागले संयुक्त आयोजनामा सम्पन्न उदघाटन कार्यक्रममा दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टेक्नोलोजी एण्ड म्यानेजमेन्ट केन्द्रको विस्तृत रिपोर्ट कलेजका चेयरम्यान अमिया रञ्जन बागाजेनाले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरु र तकदाह बहुद्देश्यीय महिला संघ रंगली रंगलीयाटका नानीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा कार्यक्रममा एनएचपीसीको निर्देशक उत्तम लाल, एनआईटी सिल्चरको निर्देशक डीके वैद्यले वक्तव्य राखेका थिए। कार्यक्रममा वैज्ञानिक डा. उतपल चक्रवर्तीले अनलाईन सम्भाषण राखेका थिए भने कार्यक्रममा तकनिकी शिक्षा र उच्च शिक्षा विभाग पश्चिम बंगाल सरकारको निर्देशक डा. अनिन्दिदा गांगुलीले पनि सम्भाषण राखेका थिए। त्यसरी नै आईआईटी भुवनेश्वरको पूर्व संस्थापक निर्देशक डा. मधु सुदन चक्रवर्ती, जीटीएको डेपुटी चिफ् सञ्चवीर सुब्बा, पश्चिम बंगाल सरकारको उच्च शिक्षा विभागको सचिव आईएएस विनोद कुमार, जीटीएको मुख्य सचिव आईएएस दुश्यान्त नरियालाले पनि वक्तव्य राखेका थिए।‌ कार्यक्रममा धन्यवाद ज्ञापन जीटीएको अभियान्त्रिकी विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले राखेका थिए।

यस उदघाटन कार्यक्रममा जीटीएको चेयरम्यान अञ्जुल चौहान, भाइस चेयरम्यान राजेस चौहान, जीटीएको कार्यकारी सभासदहरु, सभासदहरु, पञ्चायत समितिको सभापतिहरु, विभिन्न विभागका अधिकारीहरु लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै एनएचपीसीको निर्देशक उत्तम लालले यो जीटीए क्षेत्रको लागि ठूलो उपलब्धि रहेको बताएका छन्। उनले यो लामो समयदेखि चलिरहेको संघर्ष र मेहेनतको राम्रो फल प्राप्त भएको बताएका छन्। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै जीटीए प्रमुख अनित थापाले यो ईञ्जिनियरिङ कलेज पहाडको लागि ठूलो उपलब्धि रहेको बताएका छन्‌। उनले यो कलेजमा जीटीए क्षेत्रका विद्यार्थी नानीहरुलाई ३१ प्रतिशत आरक्षण दिने पनि बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement