नयाँ दिल्ली: अनुभवी भारतीय स्पिनर रविन्द्रन अश्विनले बुधवार इण्डियन प्रीमियर लीग (आईपीएल)-बाट सन्न्यासको घोषणा गरे। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको केही महिनापछि यस घोषणाको साथ उनको आईपीएल करियरमा पनि विराम लाग्यो। अश्विनले एउटा सोशल मीडिया पोस्टको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। अश्विनले लेखेका छन्, हरेक अन्त एउटा नयाँ शुरुवात हुन्छ भन्ने भनाई छ। एकजना आईपीएल क्रिकेटरको रूपमा आज मेरो समय समाप्त भयो तर विभिन्न लीगहरूमा खेलको खोज गर्ने मेरो समय आजदेखि शुरु हुँदैछ। म सबै फ्रेञ्चाइजीहरूलाई सालौंदेखि प्राप्त भएको असाधारण यादहरू र सम्बन्धको निम्ति धन्यवाद दिन चाहन्छु। निरन्तर साथ र समर्थनको निम्ति विशेषगरी म आईपीएल र बीसीसीआई-लाई धन्यवाद दिन चाहन्छु। अब भविष्यमा जे पनि अघि आउनेछ त्यसको पूरा आनन्द लिन अनि मौकाहरूको फाइदा लिन उत्सुक छु।
उल्लेखनीय छ, यस ३८ वर्षीय खेलाड़ीले गत वर्ष दिसम्बरमा अष्ट्रेलिया यात्राको अवधि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी भारतको निम्ति टेस्ट क्रिकेटमा महान अनिल कुम्बले (६१९) पछि दोस्रो सर्वाधिक विकेट (५३७) विकेट लिने बलर हुन्। अश्विनले २००९-मा चेन्नई सुपर किंग्सको साथ आईपीएलमा पदार्पण गरेका थिए अनि उनी यस टी२० लीगका सबैभन्दा प्रभावशाली क्रिकेटरहरूमा एक हुन्। अश्विनले २००९-मा चेन्नई सुपर किंग्स (सीएसके)-को तर्फबाट आईपीएलमा पदार्पण गरेका थिए। उनले पाँचौं सर्वाधिक विकेट लिने बलरको रूपमा आईपीएल करियर समाप्त गरे। अश्विनले आईपीएलमा २२१ वटा म्याच खेलेर १८७ विकेट लिए। आईपीएलमा सर्वाधिक विकेट लिने रेकर्ड युजवेन्द्र चहलको नाममा रहेको छ। उनले १७४ वटा म्याच खेलेर २२१ विकेट लिएका छन्। यस सूचीमा भुवनेश्वर कुमार (१९८), सुनिल नारिन (१९२), पीयूष चावला (१९२) पनि रहेका छन्। अश्विनले आईपीएल करियरमा आफ्नो अधिकांश समय सीएसके-मा बिताए पनि उनले राइजिंग पुणे सुपरजाइण्ट्स, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र किंग्स इलेवेन पञ्जाब (अहिले पञ्जाब किंग्स)-मा पनि केही सीजन बताए। उनले किंग्स इलेवेन पञ्जाब टीमको कप्तानी पनि गरेका थिए। अश्विनले आईपीएलमा एउटा अर्द्धशतकको साथ ८३३ रन पनि बनाएका छन्। सीएसके-लाई २०१० र २०११-मा आईपीएल च्याम्पियन बनाउनमा अश्विनको ठूलो भूमिका रहेको थियो। एक दशकभन्दा लामो अन्तरालपछि ९.७५ करोड़ रुपियाँमा सीएसके-मा सामेल हुने अश्विनले अन्तिमपल्ट आईपीएल २०२५-मा पहेंलो जर्सी लगाएर म्याच खेलेका थिए। आईपीएलबाट सन्न्यास लिएपछि अश्विनले अब दिनेश कार्तिकले झैं विश्भरि हुने टी२० लीगहरूमा खेल्न सक्नेछन्। कार्तिकले पनि विदेशी टी२० लीगहरूमा अवसरको खोज गर्न जून २०२४-मा आईपीएलबाट सन्न्यास लिएका थिए। बीसीसीआई-ले राष्ट्रिय र अन्तर्राष्ट्रियको साथमा घरेलु स्तरमा सक्रिय खेलाड़ीहरूलाई विदेशी टी२० लीगहरूमा खेल्ने अनुमति दिँदैन। अहिले आईपीएलबाट पनि सन्न्यास लिइसकेको हुनाले अश्विनले अब खेलाड़ी, प्रशिक्षक या मेण्टोरको भूमिकामा विदेशी लीगहरूमा अवसरको खोज गर्न सक्नेछन्।