सिलगढी: एक किस्तामा बीस प्रतिशतले पूजा बोनस वितरण गर्नुपर्ने माग लिएर बुधबार मिरिक महकुमाका विभिन्न चियाकमानका चिया श्रमिकहरू मिरिकको सडकमा निस्किए। बुधबार चिया सुरक्षा समितिको आयोजनामा चिया श्रमिकहरूलाई सहभागी गराइ जुलुस निकालियो। जसमा सहभागी हजारौँ चिया श्रमिकहरूले एउटै आवाजमा एक किस्तामा बीस प्रतिशतको दरले बोनस वितरण गरिनु पर्ने माग साथै मालिक पक्षको अन्याय अत्यचारको विरोधमा हातमा प्ला कार्ड बोकेर व्यापक नाराबाजी गरे।

जुलुस मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र नजिकबाट शुरू भएको थियोl जसले मिरिक कृष्णनगर अनि मिरिक बजारको परिक्रमा गरेपछि सुपर मार्केटमा सभामा परिणत भयो। आयोजक समितिका अनिल राणाले स्वागत भाषण प्रस्तुत गरेको सभालाई सम्बोधन गर्दै चिया सुरक्षा समितिका अध्यक्ष रमन राईले चिया श्रमिकहरूले वर्षभरि चियाकमानमा खटे पनि बोनसको बेला अघि सडकमा निस्कनु पर्ने प्रथा नै बसिसकेको छ। यसको दायी को हो भनी प्रश्न गरे। उनले चिया श्रमिकहरूले आफ्नो अधिकार समयमा पाउनु नसक्नु खेदको कुरा रहेको बताँउदै चिया श्रमिकहरूले एक किस्तामा बीस प्रतिशतले बोनस पाउनु पर्ने माग गरे।
