ईंग्लिश प्रीमियर लीगः लड़ाकू न्यूक्यासलको वाधा पार गर्न सफल लिभरपूल

IMG-20250826-WA0066

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलले संघर्षपूर्ण जीत हासिल गऱ्यो। सोमवार राति खेलिएको म्याचमा लिभरपूलले लड़ाकू न्यूक्यासललाई ३-२-ले पराजित गऱ्यो। मध्यान्तरको ठीक अघि विपक्षी टीम १० जना खेलाड़ीमा सीमित भए पनि लिभरपूलले म्याच जित्नको निम्ति अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। वास्तवमा लिभरपूलले एक समय २ गोलको बढ़त हासिल गरेको थियो तर १० जना खेलाड़ीको साथ खेल्दै न्यूक्यासलले पनि लगातार २ गोल गरी स्कोर बराबरीमा पुऱ्याउँदा म्याच रोमाञ्चक भयो। यस अवे म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई ऱ्यान ग्रावेनबर्चले ३५औं मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। न्यूक्यासललाई मध्यान्तरको ठीक अघि ठूलो झट्का लाग्यो। लिभरपूलका डिफेण्डर वर्जिन वान डिज्कलाई घातक फाउल गर्दा न्यूक्यासलका सेण्टर फरवर्ड एन्थोनी गोर्डनले रेड कार्ड देख्नु पऱ्यो। त्यसपछि ह्यूगो एकिटिकेले ४६औं मिनटमा लिभरपूलको बढ़तलाई दोब्बर पारे। चरम दबाउबीच घरेलु दर्शकहरू अघि न्यूक्यासलले पनि असाधारण पुनरागमन गऱ्यो। ब्रूनो गुइमारीसले ५७औं र विलियम ओसुलाले ८८औं मिनटमा लगातार गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। अन्तमा किशोर फरवर्ड रियो एन्गुमोहाले इञ्ज्युरी टाइमको दशौं मिनटमा दिलाएको गोलले लिभरपूललाई जीत दिलायो। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिएर गोल गर्ने एन्गुमोहाले केही रेकर्ड पनि बनाए। उनी लिभरपूलको निम्ति प्रीमियर लीगमा गोल गर्ने सबैभन्दा कम्ती उमेर (१६ वर्ष अनि ३६१ दिन)-का खेलाड़ी हुन्। समग्रमा उनी लीगमा गोल गर्ने चौथो सबैभन्दा कम्ती उमेरका खेलाड़ी हुन्। यस सूचीमा जेम्स भन (१६ वर्ष र २७० दिन), जेम्स मिल्नेर (१६ वर्ष र ३५६ दिन) र वेयन रुनी (१६ वर्ष र ३६० दिन) रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement