गान्तोक: राजधानीको जीरो पोइन्टस्थित भानु उद्यानमा गत तीनदेखि सञ्चालित कला संगमको समापन आज भयो। सिक्किम सरकारका भवन एवं आवास विभागीय मन्त्री भीमहाङ सुब्बा मुख्य अतिथि थिए। तीन दिवसीय कार्यक्रमको आयोजन ओभिया आर्ट सर्कल, सिक्किमले गरेको हो। कार्यक्रममा सिक्किम र नेपालका चित्रकारहरुको चित्रकला प्रदर्शनी मुख्य आकर्षण बनेको थियो। नेपाल कला अकादमीका नामुद चित्रकारहरुले स्थानीय विभिन्न स्कूल र कलेजका ससना बाल चित्रकारहरुलाई चित्रकारिताबारे मार्गदर्शन गरेका थिए। कार्यक्रममा स्कूल र कलेज लेभलका विद्यार्थीहरुबीच भिन्नभिन्नै प्रतियोगिता समावेश गरिएको थियो। पहिलोपल्ट बीसभन्दा धेर स्कूल र कलेजले चित्रकला प्रतियोगितामा सहभागिता दिएका थिए। नेपालबाट आएका चित्रकारहरुबाट परामर्श लिएका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री सुब्बाले यस प्रकारको कार्यक्रमले चित्रकारिताको क्षेत्रमा कार्य गर्ने इच्छुक युवा चित्रकारहरुलाई प्रोत्साहित गर्ने उल्लेख गरे। उनले नेपालबाट आएका चित्रकारहरुको उपस्थितिले सिक्किमलाई लाभ पुगेको बताउँदै एक्सचेन्ज कार्यक्रमले क्षमता विकासमा मदत पुऱ्याउने जिकिर गरे। कार्यक्रमका विशिष्ट अतिथि ललित कला एकादमी, नेपालका कुलपति नारदमणि हार्तम्छालीले क्षमता विकास र साधनाले कलाकारलाई दक्ष बनाउने बताए। सिक्किमले आयोजन गरेको कला संगम कार्यक्रमबाट नेपालले पनि सिक्ने मौका पाएको उल्लेख गर्दै एक्सचेन्ज कार्यक्रमको माध्यमबाट नै कलाकारहरु तिखारिने बताए। कुलपति हार्तम्छालीको नेतृत्वमा आएका दस सदसीय चित्रकार टोलीले तीन दिवसीय कला संगममा भिन्नभिन्नै प्रकारले उल्लेखनीय भूमिका निर्वहन गरेका थिए। अतिथि चित्रकारहरुले विश्वमा चलिररहेका चित्रकारिताको विविध रुपबारे जानकारी गराएका थिए।

यसबीच आयोजक ओभिया आर्ट सर्कलद्वारा जरा फाउन्डेशन, काठमाड़ौंका अध्यक्ष कृष्ण प्रसाई र ललित कला अकादमी, नेपालका कुलपति नारदमणि हार्तम्छालीलाई सम्मानमित गरियो। यस अवसरमा जरा फाउन्डेशनका महासचिव नरेन्द्रबहादुर श्रेष्ठ र ललित कला अकादमीका सचिव संजय बान्तवाले सिक्किममा अलगै चित्रकला अकादमी स्थापनाको सुझाउ राखे। यसअघि ओभिया आर्ट सर्कलकी अध्यक्ष दीपा राईले समापन सम्बोधनमा सिक्किम र नेपालबीचको कला संगम कार्यक्रमले दुवै ठाउँका कलाकारहरुलाई लाभान्वित बनाएको बताइन्।