गान्तोक: सिक्किम सरकारका धर्म विभागका मन्त्री सोनाम लामाले आज नयाँ दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथसँग भेट गरे। भेटको क्रममा मन्त्री लामाले केन्द्रीय मन्त्रीलाई सीमावर्ती क्षेत्रमा बसोबासो गर्दै आइरहेका मानिसहरूले भोग्न परिरहेको प्राकृतिको चुनौती र यसका लागि वैकल्पिक योजनामाथि छलफल गरे। विशेष गरेर सिक्किम राज्यअन्तर्गत उत्तर जिल्लाको सीमावर्ती क्षेत्रमा बसोबासो गर्ने मानिसहरूले हाल भोग्न परिरहेको प्राकृतिक आपदा विषयमा जानकारी गराउँदै उक्त समस्याको समाधान गर्ने आग्रह गरे। मन्त्री लामाको मागलाई ध्यानमा राख्दै केन्द्रीय मन्त्री सिंहले केन्द्र सरकारको तर्फबाट समस्या समाधान गर्ने आश्वासन दिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे जनताको हितमा उठाएको विभिन्न पहलहरूबारे प्रशंसा गर्दै सिक्किम विकासको गतिमा अघि बढिरहेको बताए। उनले केन्द्र सरकारको तर्फबाट सबै प्रकारको सहयोगको आश्वासन दिए। यस अवसरमा, मन्त्री लामाले रक्षामन्त्रीलाई सिक्किम भ्रमणको लागि निम्तो पनि दिए।










