साउथफिल्ड कलेजमा “शान्ति निर्माण र द्वन्द्व समाधान” विषयक एकदिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

IMG-20250825-WA0059

दार्जिलिङ: साउथफिल्ड कलेज, दार्जिलिङले दार्जिलिङ हिल्स विश्वविद्यालयसँगको सहकार्यमा “Peace Building and Conflict Resolution: Through Academic Lenses” विषयक एकदिने अन्तर्राष्ट्रिय सेमिनार सफलतापूर्वक सम्पन्न गर्‍यो। यो कार्यक्रम अङ्ग्रेजी, नेपाली र हिन्दी विभागहरूको संयुक्त पहलमा आयोजना गरिएको थियो। सेमिनारमा द्वन्द्व अध्येता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको व्यापक सहभागिता रह्यो जसले शान्ति प्रवर्द्धन र द्वन्द्व समाधानमा शैक्षिक विमर्शको भूमिका माथि गहन छलफल गरे। कार्यक्रमको सुरुवात परम्परागत दियो बालेर गरिएको थियो। तत्पश्चात् स्वागत भाषण नेपाली विभागका प्रमुख प्रा निरज राईले दिए। उद्घाटन सम्बोधन गर्दै साउथफिल्ड कलेजकी प्राचार्य डा. अनुराधा राईले शान्ति र मेलमिलापबारे सृजनात्मक संवादलाई प्रोत्साहन गर्ने शैक्षिक स्थानहरूको आवश्यकता रहेको बताए।
मुख्य संरक्षकको भाषण दार्जिलिङ हिल्स विश्वविद्यालयकी कुलपति प्रा. तेजिमाला गुरुङ नागले दिएकी छन्। उनले उच्च शिक्षण संस्थाहरूको दायित्व समाजमा सद्भाव र आपसी समझदारी प्रवर्द्धन गर्नुमा रहेको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि, त्रिभुवन विश्वविद्यालय, नेपाल, केन्द्रीय अङ्ग्रेजी विभागका सहप्राध्यापक महेश पौड्यालले साहित्यले मेलमिलापमा खेलेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे। समापन सम्बोधन (Valedictory Address) दार्जिलिङ हिल्स विश्वविद्यालयकी रजिष्ट्रार प्रा. सुजता रानी राईले दिइन्। उनले शान्ति पहललाई दीर्घकालीन बनाउन सकिने उपायबारे महत्वपूर्ण विचारहरू प्रस्तुत गरिन्। मुख्य वक्तव्य (Keynote Address) नालन्दा नवा महाविर विश्वविद्यालय, पालि विभागका सहप्राध्यापक वेन. डा. धम्म ज्योतीले दिनुभयो। उहाँले बौद्ध दर्शन र पञ्चशील (पाँच नियम) लाई वैश्विक मानवअधिकारसँग मिलाएर प्रस्तुत गर्दै सामाजिक न्याय, गरिमा र विश्वशान्तिमा यसको सान्दर्भिकता औंल्याएका थिए।
उद्घाटन सत्रको अन्त्य अंग्रेजी विभागका संयोजक डा. विनय प्रधानले धन्यवाद ज्ञापन गरेर गरे। शैक्षिक सत्रहरूमा प्राध्यापक तथा शोधकर्ताहरूले साहित्यिक र सांस्कृतिक आख्यानदेखि लिएर समाज–राजनीतिक ढाँचामा आधारित द्वन्द्व समाधानसम्बन्धी विषयमा आफ्ना अनुसन्धान पत्रहरू प्रस्तुत गरे। यसले गहन बहस र आलोचनात्मक विमर्शलाई जन्म दियो। कार्यक्रममा धन्यवाद ज्ञापन हिन्दी विभागकी संयोजक ममता कुमारीले गर्दै सबै वक्ता, सहभागी तथा आयोजकलाई आभार व्यक्त गरे। यो सेमिनारलाई एक समृद्ध र विचारोत्तेजक शैक्षिक कार्यक्रमका रूपमा व्यापक रूपमा ग्रहण गरियो। यसले शान्ति निर्माण र द्वन्द्व समाधानमा शिक्षा तथा अनुसन्धानको महत्त्वपूर्ण भूमिकालाई पुनः पुष्टि गर्‍यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement