सोनादा: सोनादा क्षेत्रका वरिष्ठ संगीतकार देवकुमार प्रधान संगीतारोही सम्मानद्वारा सम्मानित गरिएको छ। सिलगढी देवकोटा संघको ६२औँ प्रतिष्ठा दिवसको उपलक्ष्यमा सङ्घको प्रेक्षागृहमा आयोजित समारोहमा नेपाली संगीत जगतका वरिष्ठ संगीतकारहरु शान्ति ठटाल, अशोक राई, जीवन अधिकारी, गोविन्द सिंह घतानी, नरवीर रसाइलीहरुको साथमा सुर तरंग संगीत महाविद्यालय सोनादाका प्राचार्य एवम् सोनादा साहित्य संस्थानका सल्लाहकार देवकुमार प्रधानलाई संगीतारोही सम्मान २०२५ द्वारा सुशोभित गरिएको छ। समारोहका प्रमुख अतिथि दार्जिलिङका सांसद राजु विष्ट साथै संघका अध्यक्ष मिलन रुचालको बाहुलीबाट अङ्गवस्त्र, शिरशोभा, स्मृति चिन्ह, संघका मुखपत्र बाडुली, फुल गुच्छ र फूल बिरुवाहरूको साथमा भव्य सम्मान जनाएका थिए। उनको परिचय सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्रीले प्रस्तुत गरेका थिए। १९८० को दशकदेखि सोनादामा सुर तरङ्ग संगीत महाविद्यालय जस्तो उच्च सांगीतिक संस्थान स्थापना गरेर धेरै वर्ष निःशुल्क रुपमा देवकुमार प्रधानले सोनादा क्षेत्रका संगीतमा रुचि राख्ने विद्यार्थीहरुलाई नि:शुल्क रुपमा तालिम दिएर संगीतका विभिन्न स्तरका डिग्री-डिप्लोमाहरू प्रदान गर्दै आएको कुरो बताउँदै सुर तरङ्ग संगीत महाविद्यालय इलाहावादस्थित प्रयाग संगीत समितिद्वारा सञ्चालित संगीत विश्वविद्यालयबाट अनुमोदन भएकोले उक्त महाविद्यालयबाट प्राप्त प्रमाण पत्रहरू विद्यार्थीहरूको लागि अति नै उपयोगी भएको कुरो प्राध्यापक छेत्रीले जानकारी दिँदै संगीतको क्षेत्रमा देवकुमार प्रधानले दिएका योगदानहरुको मूल्याङ्कन गरेका थिए। सिलगढी देवकोटा संघद्वारा यसरी संगीत आरोही जस्ता सम्मानले सम्मानित गरेकोमा देवकुमार प्रधानले सिलगढी देवकोटा संघप्रति आभार प्रकट गरेका थिए।समारोहमा सिलगढी क्षेत्रका साङ्गीतिक, साहित्यिक अन्य विविध क्षेत्रका गण्यमान्य व्यक्तिहरुको धेरै उपस्थिति रहेको थियो।










