सोनादा: सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्तीको समस्या रहेकोले स्थानीय जनप्रतिनिधिहरुका साथमा स्थानीयहरुले सोनादास्थित विद्युत् कार्यालयमा गएर स्टेशन म्यानेजरलाई लिखित ज्ञापन पत्र बुझाएका छन्। सोनादा क्षेत्रमा पटक पटक रुपमा बिजुली बत्ती जाने हुनाले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको विषयमा उक्त ज्ञापन पत्र बुझाएको बताइएको छ। उक्त ज्ञापन पत्र बुझाउने टोलीमा पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामा लगायत अप्पर र लोवर सोनादा ग्राम पञ्चायतको जनप्रतिनिधिहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त टोलीले सोनादाको राते माटोस्थित विद्युत् विभागको कार्यालयमा पुगेर स्टेशन म्यानेजर जेई प्रतिक्षा छेत्रीलाई भेटेर लिखित ज्ञापन पत्र बुझाएका छन्। विशेष गरेर सोनादा क्षेत्रमा पटक पटक रुपमा बिजुली बत्ती जाँदा स्थानीयहरु, विद्यार्थीहरु, ग्राम पञ्चायत कार्यालयमा स्थानीयहरुका लागि काम गर्नलाई धेरै असुविधा भईरहेको जानकारी गराइएको छ। उक्त टोलीले स्टेशन म्यानेजर समक्ष सोनादा क्षेत्रमा लगातार रुपमा बिजुली बत्ती जाने समस्या समाधानको लागि झट्टै पहल गरिदिने र यस समस्याको समाधान गरिदिने निवेदन गरेका छन्। यस ज्ञापन पत्र विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य सुमन बम्जन, लोवर सोनादा ग्राम पञ्चायतको उप प्रधान थिलेन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। यसको साथै स्टेशन म्यानेजर प्रतिक्षा छेत्रीले यस विषयमा आफ्नो तर्फबाट पनि स्पष्टीकरण दिएकी छन्। उनले हामी उपभोक्ताहरुको समस्या समाधानको लागि नै बसेको बताउँदै सोनादा क्षेत्रमा बिजुली बत्ती गएको कारण मेन लाइनमा मरमत्तिको कार्य चलिरहेको साथै वर्तमान प्राकृतिक प्रकोपको कारणले पनि रहेको बताइन्। उनले हामी यस समस्याको समाधान गर्न झट्टै पहल गर्ने आश्वासन पनि दिएकी छन्।