खरसाङ: कलकत्तामा ३३औँ भाषा मान्यता दिवस साथै सम्मान अलङ्करण समारोह भव्य रुपमा सम्पन्न भयो। लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको आयोजनामा आयोजित कार्यक्रमको सभापति देविका मोक्तान, प्रमुख अतिथिको रुपमा वरिष्ठ कवि साहित्यकार डा राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी रंगु सौरिया र साहित्यकार बिमल लामा अनि अतिथिहरूमा प्रा. डा. प्रिती घतानी, साहित्यकार समशेर अली, नारायण प्रसाद हुमागाई, रोशन सिंह, खेमराज बराल उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य प्रा. अशेष लिम्बुले राखेका थिए। प्रमुख अतिथि डा. राजेन्द्र भण्डारीको बाहुलीबाट दीप प्रोज्ज्वलन गरी कार्यक्रमको शुभोद्घाटन गरियो। प्रा. डा. किरण सुब्बाले बाङ्देलको जीवन, कला र साहित्यमाथि चर्चा गरेका छन्। कार्यक्रमको मूल आकर्षण सम्मान कार्यक्रममा डा राजेन्द्र भण्डारीलाई मातृभाषा सेवाश्री सम्मान, रंगु सौरियालाई वीर खड्गबहादुर विष्ट समाज सेवा सम्मान र नुन चियाका लेखक बिमल लामालाई प्रभात साहित्य सम्मानले सम्मानित गरियो। यसबाहेक कलकत्तामा रहेर विभिन्न समाज सेवा गर्ने पद्मा गुरुङ्ग, प्रमिला श्रेष्ठ, उर्मिला छेत्री र दिपील श्रेष्ठ साथै उच्च माध्यमिकमा ९५ प्रतिशत अङ्क ल्याएर उतीर्ण हुने सागर नारायण श्रेष्ठलाई पनि सम्मानित गरियो। प्रतिवर्ष झैँ यस वर्ष पनि विद्यार्थीहरूलाई भाषासित संलग्न गराउन निबन्ध प्रतियोगिता राखिएको थियो। जसमा शिक्षादीप अकादमी बिजनबारीका विद्यार्थी बिसान्त सुब्बा प्रथम, सुनदह उच्चतर माध्यमिक विद्यालयका अनुराग छेत्री दोस्रो र लोवर चुङ्थुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थी प्रतिक्षा तामाङ तेस्रो भएका छन्। विद्यार्थीहरू प्रत्येकको नगदराशि, स्मृति चिन्ह र प्रमाण पत्र सम्बन्धित स्कूलमा चाँढै पठाइने छ। अन्य तीनजना विद्यार्थीहरू ब्लुमडेल अकादमीका फुर्बा ल्मू शेर्पा चौथो, शिक्षादीप अकादमी बिजनबारीका प्रतिक्षा सुब्बा पाँचौ र अगमसिंह गिरी स्मारक उमाविका दिपाञ्जली छेत्री छैटौँ भएका छन्। यी तीनै विद्यार्थीलाई स्मृति चिन्ह र प्रमाण पत्र स्कूलमा पठाइने छ। कार्यक्रममा चर्चित कथाकार समशेर अलीको खँदुवा बन्दुकको विधिवत लोकार्पण गरियो।

लोकार्पित किताबको टिप्पणी निमा निष्कर्षले गरेका थिए।
कार्यक्रममा प्रा. अविनाश सुब्बा, सन्तोषचन्द्र दर्नाल, बिलोक शर्मा, टिकाराम गोपाल भित्रीकोटी, रूपा अर्याल, सन्जिब गुरुङ, दिपेन्द्र दर्नाल र निमा निष्कर्षले कविता सुनाए। कार्यक्रमको सञ्चालन लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानका मूल सचिव बिकास कार्कीले गरेका थिए।