गान्तोक: रम्फूसथित सिक्किम क्रिकेट ग्राउण्डमा अत्याधुनिक स्वचालित पप-अप रेन गन स्प्रिंकलर सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ। यो प्रणालीको उद्घाटन आज मुख्यमन्त्री प्रेम सिंह तामांगले सिक्किम उच्च न्यायालयका प्रधान न्यायाधीश विश्वनाथ सोमाद्दर, मन्त्रीहरू, विधायकहरू, वरिष्ठ सरकारी अधिकारीहरू र सिक्किम क्रिकेट संघ (सिका) का सदस्यहरूको उपस्थितिमा गरे।
यस प्रणालीले मैदानको व्यवस्थापनलाई सहज बनाउनुको साथै पानीको कुशल प्रयोग सुनिश्चित गर्नेछ। मैदानमा जम्मा १६ वटा पप-अप स्प्रिंकलर जडान गरिएको छ, जसमा ६ वटा साना स्प्रिंकलर पिच वरपर र १० वटा ठूला स्प्रिंकलर मैदानको बाहिरी क्षेत्रमा छन्। यी स्प्रिंकलरहरू जमिनमुनि जडान गरिएका छन् र स्वचालित नियन्त्रण स्टेशनहरूमार्फत सञ्चालित हुन्छन्। सिका-का अध्यक्ष टीका सुब्बाले यस प्रणालीले सिक्किम क्रिकेटको विकासमा ठूलो योगदान पुर्याउने बताएका छन्।
उद्घाटनको अवसरमा मुख्यमन्त्री नेतृत्वको सीएम एकादश र प्रधान न्यायाधीश नेतृत्वको सीजे एकादश बीच एक प्रदर्शनी खेल आयोजना गरियो।