तेस्रो वनडे म्याचमा अष्ट्रेलिया २७६ रनको रेकर्ड अन्तरले विजयी

IMG-20250824-WA0091

म्याके(अष्ट्रेलिया): अष्ट्रेलियाले तेस्रो तथा अन्तिम वनडे इण्टरनेशनल म्याचमा दक्षिण अफ्रिकाविरुद्ध २७६ रनको रेकर्ड अन्तरले जीत दर्ता गऱ्यो। वनडे क्रिकेटमा यो दक्षिण अफ्रिकाको रनको अन्तरले अहिलेसम्मको सबैभन्दा ठूलो हार अनि अष्ट्रेलियाको निम्ति यो दोस्रो सबैभन्दा ठूलो जीत हो। ग्रेट बेरियर रीफ एरेनामा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाएर ४३१ रनको विशाल स्कोर बनायो। त्यसपछि दक्षिण अफ्रिका २४.५ ओभरमा केवल १५५ रन बनाएर अलआउट भयो। तेस्रो म्याच हारे पनि दक्षिण अफ्रिकाले ३ वटा म्याचको सीरीज चाहिँ २-१-ले जित्यो। पहिला ब्याटिंग गर्ने अष्ट्रेलियाको निम्ति शीर्ष तीनमा खेल्ने ट्रेविस हेड (१४२ रन), कप्तान मिचेल मार्श (१०० रन) र क्यामरन ग्रीन (अविजित ११८ रन)-ले शतक बनाए। हेडले १०३ बल खेलेर १७ वटा चौका र ५ वटा छक्का लगाए। यसरी मार्शले १०६ बल खेलेर ६ वटा चौका र ५ वटा छक्का लगाए जबकि क्यामरन ग्रीनले केवल ५५ बल खेलेर ६ वटा चौका र ८ वटा छक्का लगाए। एलेक्स केरी ७ वटा चौकाको साथ ३७ बलमा ५० रन बनाएर अविजित रहे। यसरी अष्ट्रेलियाले वनडे क्रिकेटमा आफ्नो दोस्रो सर्वाधिक स्कोर बनायो। अष्ट्रेलियाले यसअघि २००६-मा दक्षिण अफ्रिकाविरुद्ध नै ४ विकेटमा ४३४ रन बनाएको थियो। मार्श र हेडले आज पहिलो विकेटको निम्ति ३४.१ ओभरमा २५० रनको पार्टनरशीप गरे। यी दुईजना आउट भएपछि ग्रीन र केरीले आक्रामक ब्याटिंग जारी राखे। यी दुईजनाले तेस्रो विकेटको निम्ति १६४ रनको अटूट पार्टनरशीप गरी टीमलाई रेकर्ड स्कोरसम्म पुयाए। यस अवधि ग्रीनले केवल ४७ बलमा शतक बनाए। यो अष्ट्रेलियाको निम्ति वनडे क्रिकेटमा ग्लेन म्याक्सवेल (४० बल) पछि दोस्रो सबैभन्दा तेज शतक हो।
विशाल लक्ष्यलाई खेदो गर्दै दक्षिण अफ्रिकाले दबाउमा परेर शुरुदेखि नै विकेट गुमाउन थाल्यो। डेवाल्ड ब्रेविसले सर्वाधिक ४९ रन बनाए। उनले २८ बल खेलेर ५ वटा छक्का र जोड़ी चौका लगाए। यसबाहेक टोनी डी जोर्जीले ३३ रनको योगदान दिए। अष्ट्रेलियाई बलरहरूमा कूपर कोनोलीले सर्वाधिक ५ विकेट लिए। जेवियर बार्टलेट र सीन एबटले पनि २-२ विकेट लिए। अष्ट्रेलियाका ट्रेविस हेडले प्लेयर अव् द म्याच र दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले प्लेयर अव् द सीरीज हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement