गोलाघाट: भारतका गोर्खाहरूको राष्ट्रिय सामाजिक संगठन भारतीय गोर्खा परिसंघ (भागोप) को गोलाघाट जिल्ला समितिले घोषणा गरेको छ ‘गोलाघाट गोर्खा गौरव सम्मान २०२५’ बाट यस वर्ष सरुपथारकी लोकप्रिय ज्येष्ठ नागरिक, वरिष्ठ शिक्षाविद्, सामाजिक उद्यमी र परिवर्तनकी अभियन्ता श्रीमती शान्ति राईलाई बिभूषित गरिने छ। उहाँलाई सबैले “आमा” भनेर स्नेह गर्छन।
यो सम्मान २०२५ अगष्ट २५ गते सोमबार, शहीद मेजर दुर्गा मल्लको ८१औं बलिदान दिवसको अवसरमा शहीद बीरबल लिम्बू स्मृति गोर्खा भवन, पडुमनी, सरुपथार, गोलाघाटमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ।

यो घोषणा गर्दै गोलाघाट जिल्ला भागोपका अध्यक्ष ज्ञनिन्द्र छेत्रीले भनेl “यो सम्मान श्रीमती राईको चार दशकभन्दा बढी समयसम्म शिक्षाक्षेत्र, सामाजिक सशक्तिकरण र सामुदायिक नेतृत्वमा पुर्याएको योगदानप्रति सम्मान हो।” उनले थपे, “यो बलिदान दिवस कार्यक्रम स्वतन्त्रता संग्राममा गोर्खाहरूले पुर्याएको बलिदान र राष्ट्र निर्माणमा पुरयाएको योगदानको सम्मान स्वरूप मनाइन्छ l त्यसैले गोलाघाटका सबै गोर्खाहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दछौं।”
सन् २०२१ देखि, गोलाघाट जिल्ला भा.गो.प. ले प्रत्येक वर्ष बलिदान दिवसमा गोलाघाट गोर्खा गौरव सम्मान प्रदान गर्दै आएको छ, जसलाई भारतीय गोर्खा परिसंघको राष्ट्रिय समितिले प्रदान गर्ने राष्ट्रिय गोर्खा गौरव सम्मान को परम्परासँग जोडिएको छ।