नयाँ दिल्ली: भारतका स्टार ब्याटर चेतेश्वर पुजाराले भारतीय क्रिकेटको सबै प्रारूपबाट सन्न्यास लिएका छन्। आइतवार उनले सोशल मीडियामा एउटा पोस्टको माध्यमले सन्न्यासको घोषणा गरेका छन्। पुजाराले आफ्नो पोस्टमा लेखेका छन्, भारतीय जर्सी लगाउनु, राष्ट्रगान गाउनु अनि हरेकपल्ट मैदानमा आफ्नो सर्वश्रेष्ठ दिनु। यस भावनालाई शब्दहरूमा बयान गर्न सकिँदैन तर हरेक राम्रो कुराको एक दिन अन्त हुन्छ। म अत्यन्त आभारको साथ भारतीय क्रिकेटको सबै प्रारूपबाट सन्न्यास लिएको घोषणा गरिरहेको छु। लगातार माया अनि समर्थनको निम्ति सबैलाई धन्यवाद। राजकोटको सानो शहरमा हुर्किएको म, वाल्यकालदेखि नै आफ्नो माता-पितासँग आकाशलाई छुने सपना देख्थे अनि मनमा भारतीय क्रिकेट टीमको हिस्सा बन्ने सपना बुन्थे। त्यस समय यस खेलले मलाई यति धेरै दिनेछ भन्ने सोचेको थिइनँ। अनमोल अवसर, अनुभव, उद्देश्य, प्रेम र सबैभन्दा ठूलो कुरा आफ्नो राज्य र यस महान राष्ट्रको प्रतिनिधित्व गर्ने मौका। म बीसीसीआई र सौराष्ट्र क्रिकेट संघलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई क्रिकेट करियरमा अवसर र समर्थन दियो। म ती सबै टीमहरू, फ्रेञ्चाइजीहरू र काउण्टी टीमहरू प्रति आभारी छु, जसको म सालौंसम्म हिस्सा रहे।
पुजारा (३७ वर्षीय)-ले आफ्नो करियरमा १०३ वटा टेस्ट र ५ वटा वनडे इण्टरनेशनल म्याच खेले। उनले ९ अक्टोबर २०१०-मा बेंगलुरुमा अष्ट्रेलियाविरुद्ध टेस्ट म्याचको साथ इण्टरनेशनल क्रिकेटमा पदापर्ण गरेका थिए। पुजाराले आफ्नो पहिलो टेस्ट म्याचको २ वटा ईनिंग्समा ४ र ७२ रन बनाएका थिए। यसरी उनले आफ्नो अन्तिम टेस्ट म्याच वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको रूपमा जून २०२३-मा खेले। पुजाराले आफ्नो करियरको अन्तिम टेस्ट म्याचको २ वटा ईनिंग्समा १४ र २७ रन बनाए। समग्रमा उनले आफ्नो करियरमा १०३ वटा टेस्ट म्याचमा ४३.६०-को औसतले ७१५९ रन बनाए। अविजित २०६ रन उनको सर्वोच्च स्कोर रह्यो। पुजाराले टेस्ट प्रारूपमा १९ वटा शतक र ३५ वटा अर्द्धशतक बनाए। पुजाराले आफ्नो संक्षिप्त वनडे इण्टरनेशनल करियरमा ५ वटा म्याच खेलेर ५१ रन बनाए। आईपीएलमा पुजाराले ३० वटा म्याचको २२ वटा ईनिंग्समा एउटा अर्द्धशतकको साथ ३९० रन बनाए। प्रथम श्रेणीको क्रिकेटमा उनले २७८ वटा म्याच खेलेर ६६ वटा शतक र ८१ वटा अर्द्धशतकको साथ २१३०१ रन बनाए। इनिङ्ग्सलाई सम्हाल्ने अनि दबाउलाई सहन सक्ने क्षमता पुजारामा जस्तो थोरै क्रिकेटरहरूमा मात्र रहेको छ। उनलाई २०१८-१९-मा अष्ट्रेलियामा भारतको ऐतिहासिक पहिलो टेस्ट सीरीज जीतको सूत्रधारको रूपमा सदा याद गरिनेछ। उनले त्यस सीरीजमा १२५८ बलको सामना गरी ३ वटा शतकको साथ ५२१ रन बनाएका थिए।