गान्तोक: सिक्किम-नेपालका चित्रकारहरुबीच विनिमय कार्यक्रम राजधानी गान्तोकमा शुरु भयो। तीन दिवसीय कार्यक्रमलाई ‘कला संगम’ नाम दिइएको छ। कार्यक्रमको आयोजन ओभिया आर्ट सर्कल, सिक्किमले गरेको हो। उद्घाटनीय कार्यक्रमको अवसरमा सिक्किम-नेपालका चित्रकारहरुले आ-आफ्ना परिचय साटासाट गरे। यसबीच नेपालबाट आएका दश सदस्यीय चित्रकार टोलीलाई आयोजक ओभिया आर्ट सर्कलको तर्फबाट स्वगत गरियो। स्थानीय जीरो पोइन्टस्थित भानु उद्यान परिसरमा शुरु भएको तीन दिवसीय कार्यक्रमको उद्घाटनीय अवसरमा नेपाल ललित कला अकादमीका कुलपति नारदमणि हार्तम्चाली मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा उनले भने, ‘कला संगम कार्यक्रम व्यष्टिदेखि समष्टि बनाउने साझा माध्यम हो। दुई देशको कलालाई मात्र होइन, भाषा, संस्कृति र मौलिक ज्ञानलाई पनि जोड़्छ।’ कुलपति हार्तम्चाली अझ अघि थपे, ‘तीन दिवसीय कला संगम कलाको बीउ रोप्ने काम भएको छ।’ नेपाली साहित्य, लोक सङ्गीत र चित्रकलाका प्रखर विद्वान हार्तम्चाली विगत लामो समयदेखि कलाको क्षेत्रमा आवद्ध छन्। यस्ता दुई देशस्तरीय कला विनिमय कार्यक्रमले एकअर्काका कलालाई चिन्ने र सिक्ने प्रशस्त अवसर मिलेको उल्लेख पनि उनले सम्बोधनमा गरे। उनले यस्ता साझा कार्यक्रमको माध्यमबाट कलालाई विश्वस्तरमा उतार्न सकिने मन्तव्य थपे। यसअघि आयोजक ओभिया आर्ट सर्कलकी अध्यक्ष दीपा राईले कार्यक्रमको महत्वमाथि प्रकास पारिन्। सिक्किमका चित्रकारहरुले नेपालबाट सिक्ने थुप्रै अवसरहरु पाएको जिकिर गर्दै यसपाली सिक्किमले साझा मञ्च तयार पारेको बताइन्। तीन दिवसीय कार्यक्रममा नेपालका अतिथि कलाकारहरुबाट राज्यका युवा तथा विद्यार्थी चित्रकारहरुलाई अत्याधिक ज्ञान हासिल हुने उल्लेख गरिन्। यसबीच. काठमाड़ौंबाट आएका जरा फाउन्डेशनका प्रतिनिधि, काकड़भिट्टाबाट आएका कलाकारहरुले पनि आफ्ना विचार साझा गरे। कार्यक्रममा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम राउत, कलाकार विमला प्रधान, सिक्किम सरकारका वरिष्ठ अधिकारी छुल्ठिम भोटिया, साहित्यकार मिना सुब्बा र प्रद्युम्न श्रेष्ठ विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।