गान्तोक: सिक्किम सरकारको विज्ञान एवं प्रविधि विभागले उत्तर सिक्किममा अवस्थित विभिन्न हिमतालहरूको अध्ययन गर्न वैज्ञानिक अनि विशेषज्ञहरूको एउटा अनुसंधान टोली पठाएको छ। यस अभियानले हिमनदी र हिमतालहरूको संवेदनशील अवस्था र जलवायु परिवर्तनको प्रभावलाई उजागर गर्ने लक्ष्य राखिएको छ। अनुसंधान अभियानको दोस्रो दिन टोलीले हिजो डोम्बाङ उपत्यकाको भ्रमण गरी खाङपुप खाङसे हिमनदीसम्म ५ किलोमिटरको दुर्गम यात्रा सम्पन्न गरेको छ। टोलीले पहिले डोमबाङ उपत्यकाको खाङ्पुप खाङ्से हिमनदीको अवलोकन गर्यो। यो हिमनदी तीव्र गतिमा पातलिंदै गएको छ, तरै पनि यसको अगाडिको भागमा पग्लिएको पानीको गर्जन अझै सुनिने गरेको विभागद्वारा जारी प्रस विज्ञप्तीमा जनाइएको छ।
उक्त मुख्य टोलीबाट अलग भई अर्को उप-टोली समुन्द्र तलदेखि ४,८०० मिटर उच्चाइमा अवस्थित चुमिलाम्चा हिमतालसम्म पुगेको थियो। ५० लाख घनमिटर पानी अटाउने यो विशाल ताललाई “श्रेणी–ए” को उच्च जोखिमयुक्त तालको रूपमा वर्गीकृत गरिएको छ। तालको माथि एक किलोमिटर लामो झुन्डिएको हिमनदी अवस्थित रहेको छ, जसले थप जोखिम बढाएको छ। तालको दायाँ र बाँया छेउमा भने मोरेन अर्थात हिमनदीद्वारा बनाइएका माटो र ढुङ्गाका बाँधहरू स्थिर देखिएको जसको कारण हालका लागि ठूलो भू-स्खलनको सम्भावना कम देखिएको विज्ञप्तीमा थप उल्लेख गरिएको छ। यद्यपि, तलपट्टी रहेको टर्मिनल मोरेन भने यसै वर्षको जून महिनामा भएको हिमताल विस्फोटको कारण क्षतिग्रस्त भएको देखिएको छ।
यसरी नै अभियानको तेस्रो दिन आज वैज्ञानिक अनि विशेषज्ञहरूको टोली दुई समूहमा विभाजित भएर अध्ययनको क्रमलाई निरन्तरता दिए। एउटा टोली ४,९०० मिटोर उच्चाईमा रहेको शाको छो ताल पुगेको थियो जहाँ सौर्य पम्पको प्रयोगले तालको सतह घटाएर हिमताल विष्फोटनको जोखिमलाई न्यूनीकरण गर्ने योजना रहेको छ। तालमा पुगेर अनुसंधान टोलीले मोर्फोमेट्रिक अध्ययन साथै तालको सतह अनुगमन गऱ्यो।
यसरी नै अर्को टोली छोम्बो चु उपत्याकाको सोरा फनेल क्षेत्र पुगेको थियो। यहाँ खानी तथा भूगर्भ विभागले यूएभी लिडर ड्रोनको प्रयोग गरेर थ्रीडी टेरेन म्यापिङ गऱ्यो। साथै सोरा फनेल क्षेत्रमा उपसतह भूभौतिकीय अध्ययन पनि गऱ्यो।
२० अगस्तदेखि १० सेप्टेम्बरसम्म चल्ने यस अभियानमा देशका ६ वटा विभिन्न प्रमुख संस्थान साथै राज्य सरकारका विभिन्न विभागहरू अनि सेना र आइटीबीपी-का गरी जम्मा ३५ जनाको टोली रहेको छ।