तीनधारेमा ३४औं नेपाली भाषा मान्यता दिवस साथै सम्वर्ध्दना कार्यक्रम सम्पन्न

IMG-20250823-WA0080

नेपाली भाषालाई लिएर हामीले हीनतावोध होइन गर्ववोध गर्नुपर्छ: पारसचन्द्र आले

खरसाङ: अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको आयोजनामा तीनधारे महानदी समष्टि स्तरीय ३४औं भाषा मान्यता दिवस समारोह तीनधारेको मिठाईडाँडास्थित प्रगति संघमा सम्पन्न भएको छ। उक्त समारोह विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानको अध्यक्षता र आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आलेको‌ प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।‌ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासद नवराज छेत्री, साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाइली, साहित्यकार युवराज सुन्दास , कवि मिलन प्रधान, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, कर्माध्यक्ष दावा वाङ्दी लामा र साजन दर्जी, सुरेन बम्जन लगायत अन्यहरु उपस्थित रहेका थिए। बिपन विश्वकर्मले सञ्चालन गरेको‌ कार्यक्रममा स्वागत सम्भाषण विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको प्रचार प्रसार सचिव पुरण राईले‌ राखेका थिए। कार्यक्रममा अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा रेणुका कन्या उच्च माध्यमिक विद्यालयका‌ विद्यार्थीद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली भाषा मान्यता आन्दोलनको‌ विषयमा वृत्त चित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली भाषा मान्यताको‌ आन्दोलन र यस आन्दोलनमा तीनधारेको भूमिका विषयमा वार्ता प्रस्तुत गरेका थिए। यस कार्यक्रममा तीनधारेको दुईजना भाषा संग्रामी जेबी गुरूङ र पूर्णकुमार मास्केलाई सम्वर्ध्दना जनाइएको छ। त्यसरी नरबुङ निवासी डा प्रगति प्रधान, कवि एवं पत्रकार हनोक थापा, मोहित भुजेल, बिक्की पाख्रिन आदिलाई सम्वर्ध्दना जनाइएको छ। सबैलाई खदार्पणसहित जातीय टोपी पहिराएर, शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरिएको छ। कार्यक्रममा तीनधारे महानदी समष्टिका विभिन्न विद्यालयहरुबाट दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान जनाइएको छ। कार्यक्रममा रेणुका उच्च विद्यालय, तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, नेताजी हाई स्कूल, ड्याप जोभियल अकाडेमी, ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल घैयाबारी, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय आदिका विद्यार्थीहरुले गीत, नृत्य‌, नाटक प्रदर्शनसहित कविता वाचन पनि गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथि सभासद नवराज छेत्रीले आजको कार्यक्रम भोलि इतिहास बन्छ भन्दै इतिहास रच्नेहरु पहिला विद्यार्थीहरु नै थिए भनी बताएका छन्। उनले नेपाली भाषा हाम्रो मातृ भाषा‌‌ हो तर नेपाली भाषाबाहेक अन्य भाषालाई पनि सम्मान गर्नुपर्छ भनी बताएका छन्। सभासद नवराज छेत्रीले अघि भने, ‘नेपाली भाषाको आफ्नै महत्व छ। हामीले हाम्रो भाषा नै ठूलो हो भन्ने बुझ्नुपर्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कनिष्ठ संगठन विद्यार्थी महासंघलाई अनुरोध छ, ‘आगामी वर्ष तीनधारे महानदी समष्टिमा‌ अन्तर विद्यालय तर्क सभाको आयोजना गर्ने अनुरोध गर्दछु र भाषा मान्यता दिवस महिनाव्यापी रुपमा पालन गर्ने अनुरोध पनि गर्दछु।’


कार्यक्रममा प्रमुख अतिथि आकाशवाणी खरसाङको पूर्व कार्यक्रम प्रमुख पारसचन्द्र आलेले‌ आफ्नो सम्बोधनमा तीनधारे सर्जक, स्रष्टाहरु र कलाकारहरु रहेको मलिलो स्थान रहेको बताउँदै तीनधारे आउनु पाएकोमा खुशी लागेको बताए। उनले विद्यार्थीहरुले‌‌ दुईवटा दिनाङक् याद राख्नु पर्ने हुन्छ त्यो हो -नेपाली‌ भाषा मान्यताको‌ मांग उठेको साल १९५६ र नेपाली भाषाले‌ मान्यता पाएको दिनाङ्क २० अगस्त १९९२ लाई याद राख्नुपर्छ भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘भाषाले मान्यता पाएपछि भाषाले पाउने सहुलियतहरु खोज्नु हाम्रोमा कमजोरी भएको होला। तर भाषाले मान्यता पाएपछि हामी वैज्ञानिक रुपमा हामी भारतीय भयौं। अहिले लोक सेवा आयोगको परीक्षामा पनि नेपाली भाषामा लेख्न सकिन्छ। तर भाषाले मान्यता पाएर पनि हामीले भनेको जस्तो काम गरेनौँ भने अर्थहीन बन्छ। विद्यार्थीहरु र अभिभावकहरुमाझ नेपाली भाषालाई लिएर हीनतावोध हुनु हुँदैन। हामीले सबै भाषा सिक्नुपर्छ अनि तर नेपाली भाषाप्रति गर्ववोध गर्न सक्नुपर्छ र नेपाली भाषाको महत्वलाई बुझ्नुपर्छ।’
पारसचन्द्र आलेले‌ अझ भने, विद्यार्थी महासंघले अहिले राम्रो संस्कार शुरु गरेको छ। यसको सराहना गर्नुपर्छ। हामीले‌ भाषा मान्यताको उत्सव मनाउनुपर्छ।‌किनभने हामीले ३६ वर्ष आन्दोलन गरेर मान्यता पाएको भाषा हो। भाषालाई लिएर राजनीति नहोस्। कार्यक्रममा सभाध्यक्ष सुभम प्रधानले आफ्नो सम्बोधनमा आगामी वर्षदेखि जुन विद्यार्थीले नेपाली भाषामा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण गर्छन् उसलाई र शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिने घोषणा गरेका छन्। उनले आगामी वर्ष तीनधारे महानदी समष्टि स्तरीय तर्क सभाको आयोजना गरिने बताउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रममा कवि मिलन प्रधान र अभिजित छेत्रीले‌ कविता वाचन गरेका थिए भने मोहित भुजेल र दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा तीनधारे महानदी समष्टिको चारैवटा ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, विभिन्न विद्यालयहरुको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरु साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पदाधिकारीहरु, शिक्षक संगठन, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न भातृ संगठनका प्रतिनिधिहरु उपस्थित रहेका थिए‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement