कालचिनी: आउँदो १ र २ अक्टोबरमा केरलाको थ्रिसुरमा सम्पन्न हुने दुई दिवसीय दिल्ली साहित्य अकादमीको अनुवाद पुरस्कार समारोहसँगै अभिव्यक्ति कार्यक्रममा नेपाली साहित्यको प्रतिनिधित्व गर्दै डुवर्सबाट कवि/कथाकार अबीर खालिङ केरला जाने भएका छन्। उक्त दुई दिवसीय अभिव्यक्ति कार्यक्रममा प्रथम दिन १ अक्टोबरमा केरला साहित्य अकादमी अडिटोरियममा उद्घाटन समारोह साथै सांस्कृतिक एकतामाथि अभ्यव्यक्ति कार्यक्रम सम्पन्न हुनेछ भने दोस्रो दिन २ अक्टोबरमा कवि समागम केरला थ्रिसुर स्थित चंगमपूझा मन्दिरममा सम्पन्न हुने कार्यक्रममा भारतभरिका १६ वटा मान्यताप्राप्त भाषाभाषीहरुसितै नेपाली साहित्यको प्रतिनिधित्व गर्दै कवि/कथाकार अबीर खालिङले आफ्नो हिन्दी, अंग्रेजी र नेपालीगरी ६ वटा रचना प्रस्तुत गर्ने स्वयं कवि/कथाकार अबीर खालिङले जनाएका छन्l उक्त अभिव्यक्ति कार्यक्रममा अनुवाद पुरस्कार प्रदान गरिनेछ भने यसमा मान्यताप्राप्त २४ वटा भाषाभाषीका स्रष्टाहरुलाई समावेश गरिएको बताइएको छ।
साहित्य अकादमीको कार्यक्रममा यसरी नेपाली साहित्यको प्रतिनिधित्व गर्दै डुवर्सबाट कवि/कथाकार अबीर खालिङले मौका पाएकोमा कालचिनी सृजनशील समूहले गर्व महसूस गरेको समूहको सचिव चन्दन भट्टराईले बताएका छन्। कवि तथा कथाकार अबीर खालिङले दिल्ली साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिको संयोजक डा.जीवन नामदुङलाई यसको निम्ति विशेष आभार व्यक्त गरेका छन्।








