सोरेङ: शिरिजङ्गा याकथिम साक्थिम फोजुम्बो थर्पुको ४५औं स्थापना दिवसलाई केन्द्र गर्दै थर्पु साँस्कृतिक भवनमा आजदेखि दुई दिवसीय कार्यक्रम आरम्भ भएको छ। प्रथम दिनको कार्यक्रममा क्षेत्र विधायक तथा समारोह समितिका मुख्य संरक्षक आदित्य गोले, मन्त्री भीमहाङ सुब्बा, लिम्बु जातिका एक विद्घान व्यक्तित्व डा. बीएल खाम्दाक, सुचना तथा जनसम्पर्क विभागका सल्लाहकार एसबी सुब्बा, अनुसूचित जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा, एपीएस, ओएसडी, जिल्ला तथा ग्राम पञ्चायतगण, लिम्बू समुदायका बुद्धिजीवीगण, सोरेङ जिल्लाका विभागीय अधिकारीगण, समारोह समितिका अध्यक्ष सुकवीर सुब्बासहित अन्य पदाधिकारीगण, विद्यार्थी साथै आमनागरिकहरुको बाक्लो उपस्थिति थियो।
आज सम्पन्न कार्यक्रममा मुख्य आकर्षणको रूपमा लिम्बू विद्यार्थी र युवाहरुलाई समेटेर लिम्बू समुदायबाट विस्तारै हराउँदै गइरहेका पारम्पारिक नृत्य, मुन्धुम, संस्कार-संस्कृति, आभूषण जस्ता विषयवस्तुमाथि कार्यशाला आयोजना गरिएको थियो। जसअन्तर्गत पहिलो भागमा तम-अक्की, केन्जोरी, सिरधाप्पे, तुम्येहाङ सम्लो, हकपरे सम्लो, ख्यालीलाई लिएर कार्यशालामा जानकारी गराइयो। यसरी नै कार्यशालाको दोस्रो भागमा यबा लाङ र सिलाम साक्माको महत्त्वमाथि जानकारी गराइएको थियो। शिरिजङ्गा याकथिम साक्थिम फोजुम्बोका महासचिव डीएच सुब्बाले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुकवीर सुब्बा, मुख्य वक्ताको रूपमा उपस्थित डा. बीएल खाम्दाक र मन्त्री भीम हाङ सुब्बाले पनि सम्बोधन गरेका छन्।










