साहित्य अकादमीको‌ आयोजनामा’साहित्यिक विमर्श एवं नारी चेतना’ कार्यक्रम हुने

IMG-20250822-WA0110

खरसाङ: साहित्य अकादेमी, नयाँ दिल्ली अनि सर्वनाम समूह, मङपूको संयुक्त तत्त्वावधानमा ‘साहित्यिक विमर्श एवं नारी चेतना’ कार्यक्रम मङपूस्थित सरस्वती उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न हुने भएको छ।
गत दिनाङ्क ३१ जनवरी २०२५ मा आयोजित नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीको ५१औँ वार्षिक सभामा दार्जीलिङ जिल्ला अन्तर्गत विभिन्न स्थानमा विभिन्न प्रकारका साहित्यिक कार्यक्रम आयोजना गर्ने प्रस्तावना प्रेषण गरिएका थिए। यिनै प्रस्तावनाहरूमध्ये एक मङपूमा उक्त कार्यक्रम सम्पन्न गर्ने आधिकारिक अनुमोदन पत्र संख्या एस. ए. १२१/२५/नेपाली/२२०५० दिनाङ्क १ मार्च २०२५ मार्फत प्राप्त भएको हो। यसैको क्रम संख्या ११ अनुसार उक्त कार्यक्रम सम्पन्न हुन गइरहेको साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य एवं वरिष्ठ साहित्यकार आशा मुखिया लामाले जानकारी गराएकी छन्। उनले जानकारी गराए‌ अनुसार यो साहित्यिक कार्यक्रममा जगत राई, सर्वनाम समूहका सभापतिले उक्त समारोहको अध्यक्षता गर्नेछन् भने शंकर देव ढकाल, संयोजक, नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्ली समारोहमा प्रमुख अतिथिको आशनमा विराजमान रहनेछन्। उक्त समारोहलाई प्रख्यात साहित्यकार कवि सुरेन्द्र थिङले आफ्नो न्यानो स्वागत सम्बोधन राखेर सत्रको आरम्भ गर्नेछन्।
दुइ सत्रमा विभाजन गरिएको समारोहमा: प्रथममा साहित्यिक मञ्च (Literary Forum) रहनेछ। दोस्रो सत्रमा ‘नारी चेतना’ कार्यक्रम रहनेछ।
‘साहित्यिक मञ्च’-कार्यक्रममा भारतीय नेपाली साहित्यका प्रख्यात साहित्यकारहरूले आ-आफ्ना अनुवन्धित विषयहरूमा बहुमूल्य र शोध परक कार्यपत्रहरू पठन र प्रेषण गर्नेछन् – जसमा वरिष्ठ साहित्यकार, साहित्य अकादमी पुरस्कारले विभूषित आदरणीय उदय थुलुङ, वरिष्ठ साहित्यकार शरद रावत, वरिष्ठ कवि शरण गुरूङ, ‘मुस्कान’, साहित्यकार मुनाल घिसिङ आदि रहनेछन्।
उसरी नै दोस्रो सत्र ‘नारी चेतना’ कार्यक्रम वरिष्ठ कवि श्री पुस्कर सिंगर, सचिव, सर्वनाम समूह, मङपूको अध्यक्षतामा आरम्भ हुनेछ, स्वागत सम्बोधन आशा मुखिया लामा, सदस्य, नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीले राख्नेछन्।
‘नारी चेतना’ कार्यक्रममा नारी सम्बन्धित विभिन्न विमर्शका अनुसन्धानात्मक विषयहरू माथि निम्नलिखित नारी हस्ताक्षरहरूले आफ्ना कार्यपत्र कर्मैले प्रस्तुत गर्नेछन् जसमा प्रसिद्ध साहित्यकार, कवि, सम्पादक सुभद्रा बम्जन, साहित्यकार, कवि प्रमिला मुखिया, कवि प्रियेशना राई, साहित्यकार दीपा मोक्तान‌ आदि रहने भएका छन्। साहित्य अकादेमी, नयाँ दिल्लीको संयुक्त तत्त्वावधानमा आयोजना हुने यो कार्यक्रम मङपूको साहित्य संस्था, सर्वनाम समूहको निम्ति एउटा ऐतिहासिक कार्यक्रम बन्न गएको छ। भारतको शीर्षस्थ साहित्यिक संस्थान, साहित्य अकादेमीलाई हाम्रा ग्रामिण क्षेत्रमा पनि परिचित गराउने अनि विभिन्न प्रकारका साहित्यिक कार्यक्रमहरू संचालन गरेर हाम्रा वरिष्ठ एवं नवोदित कवि साहित्यकारहरूलाई यसमा संलग्न गराउने वर्तमान नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीको मूख्य उद्देश्य रहेको छ। आगामी दिनाङ्क २४ अगस्त २०२५ (आइतबार)-को दिन मङपूस्थित सरस्वती उच्चत्तर माध्यमिक विद्यालय प्रेक्षालयमा सम्पन्न हुने उक्त समारोहमा मङपू लगायत वरिपरि क्षेत्रका भाषा साहित्यप्रेमी महानुभावहरु साथै विभिन्न पाठशालाका शिक्षक शिक्षिकागण एवं विद्यार्थीवर्गलाई यो विज्ञप्तिको माध्यमबाट साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य एवं वरिष्ठ साहित्यकार आशा मुखिया लामाले उपस्थितिको लागि आह्वान् गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement