यसपालि चिया श्रमिकले २०% बोनस नै पाउनेछन् अनि पाउनुपर्छ: अनित थापा

IMG-20250822-WA0104

दार्जिलिङ: यसपालि चिया श्रमिकले २०% बोनस नै पाउनेछन् अनि पाउनुपर्छ भनी जीटीए प्रमुख अनित थापाले बताएका छन्। यस विषयमा उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘हरेक वर्ष श्रमिकहरू आन्दोलित बन्नु पर्छ। के को निम्ति? आफ्नो हक अनि अधिकारको लागि। बोनसको निम्ति मैले २०% को बेञ्च मार्क तय गर्दै श्रम मन्त्री मोलय घटकसँग धेरै लामो तर्क गरेको थिए। अन्त्यमा उनले पनि कुरा सही हो। श्रमिकले वोनस २०% नै पाउनु पर्छ भन्ने मेरो अडानमा सहमति जनाए।
मेराे २०% बोनसको मांगमाथि यूनियनले आपत्ति पनि जनाए। तर आज सार्वजनिक भएको यो सरकारकाे चिया बगानलाई निर्देशले आगामी दिनमा श्रमिकले श्रमिक भवनमा धर्ना बस्नु पर्दैन, आन्दोलन गर्नेहरूले मन बनाएका छन् भने अब आन्दोलन गर्ने विचार छोड्नुहोस।’
उनले अघि भने, ‘कुटनीति भनेको यही हो। फेसबुकका सल्लाहकारको आईडियाले जीटीए चल्दैन भनेको हो। तिमीहरूको नकारात्मक सोचले श्रमिकलाई फाइदा हुँदैन भन्ने सन्देश हो। यसपालि चिया श्रमिकले २०% बोनस नै पाउनेछन्। आजको निर्देशमा के भनेको छ त्यसको नेपाली रूपान्तर यहाँ राखेको छु।’
थापाले अघि भने, पश्चिम बङ्गाल सरकारको श्रम विभाग, दार्जीलिङ नर्थ रीजनल जोनबाट २२ अगस्ट २०२५ मा जारी गरिएको सल्लाह पत्र‌, आर्थिक वर्ष २०२४-२५ का लागि दार्जीलिङ, खरसाङ, कालिम्पोङ, तराई अनि डुवर्स क्षेत्रका चिया बगानका श्रमिकहरूलाई २०% बोनस दिने निर्णय गरिएको छ। जसको तलब बोनस पाउने सीमा नाघेको छ, ती कर्मचारीहरूलाई बोनस दिइँदैन; तर केवल त्यो सीमा काटेको वर्षमा मात्रै बोनस दिइन्छ। बोनसको भुक्तानी १५ सेप्टेम्बर २०२५ भित्र गर्नुपर्नेछ।
श्रमिक र श्रमिक सङ्गठनहरूले शान्ति, सद्भाव र अनुशासन कायम राख्न भनिएको छ।मासिक तलबको आधारमा कटौती नगरी बोनस दिने आदेश छ।’
अनित थापाले अझ भने, ‘यसको अनुगमन श्रम आयुक्तले गर्नेछन्।
यो निर्देश पत्रमा बगान व्यवस्थापन र श्रमिकहरूका लागि विभिन्न स्पष्ट निर्देशन छ, विशेष गरी बोनसको भुक्तानी समयसीमा र योग्यता सम्बन्धी। सरकारले निर्देश दिई सक्यो। अब पालो चिया बगानका मालिकहरुको। २०% बोनस न्यूनतम बोनस दर हो। यस निर्देशलाई पालन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। म पहाडमा कुनै अशान्ति चाहदिन। न त बगानमा कुनै झमेला। यसपालि चिया श्रमिकले २०% बोनस नै पाउनेछन् अनि पाउनुपर्छ।’

About Author

Advertisement