सिक्किममा पहिलोपल्ट विश्व उद्यमी दिवस पालन

IMG-20250822-WA0001

गान्तोक: सिक्किममा आज पहिलोपल्ट विश्व उद्यमी दिवस पालन गरियो। राज्य सरकारको उद्योग एवं वाणिज्य विभागद्वार आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उद्यमशीलताका प्रमुख पक्षहरूबारे प्रकाश पार्दै सफलता हासिल गर्ने उपायहरूबारे आफ्नो अनुभव साझा गरे। उनले उद्यमी बन्न चाहने युवाहरूलाई अवसरहरू खोज्न, व्यावहारिक अनुभव हासिल गर्न र दृढ संकल्पका साथ चुनौतीहरूको सामना गर्न प्रोत्साहन गरे।
मुख्यमन्त्रीले उद्यमशीलतामा उपलब्ध विशाल अवसरहरूमा जोर दिँदै युवाहरूलाई यस क्षेत्रमा प्रवेश गर्न प्रेरित गरे। उनले भने, “उद्यमशीलताले नवप्रवर्तन र आर्थिक प्रगतिलाई मात्र प्रोत्साहन गर्दैन, यो आत्मनिर्भरता र दीर्घकालीन स्थिरताको लागि पनि महत्वपूर्ण छ।” उनले युवाहरूलाई मन्त्रालय र राज्य सरकारद्वारा प्रदान गरिएका विभिन्न पहल, योजना र समर्थन प्रणालीहरूको अधिकतम उपयोग गर्न आह्वान गरेका छन्। सही दृष्टिकोण र संकल्पका साथ युवाहरू परिवर्तनका प्रमुख संवाहक बन्न सक्ने र राज्यको विकास अनि समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ रहेको छ।
वाणिज्य, उद्योग, पर्यटन र नागरिक उड्डयन विभागका मन्त्री टीटी भुटियाले आफ्नो मन्तव्यमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गर्दै उद्यमीहरूको राज्यको विकास र प्रगतिमा महत्वपूर्ण योगदानको प्रशंसा गरे। उनले यस कार्यक्रमको उद्देश्य उद्यमीहरूको नवीन विचार र प्रयासलाई सम्मान गर्नु रहेको बताए। यस अघि वाणिज्य तथा उद्योग विभागकी सचिव सुश्री कर्मा डी. याउत्सोले स्वागत सम्बोधन राख्ने क्रममा यो कार्यक्रम सिक्किममा पहिलो पटक आयोजना गरिएको जानकारी गराए।
कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई सम्मान पनि जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement