लण्डन: ईंग्ल्याण्डका पूर्व दिग्गज पेस बलर स्टुअर्ट ब्रड प्रशिक्षकको भूमिकामा काम गर्ने योजना बनाइरहेका छन् जहाँ उनी एक दिन जोफ्रा आर्चर र जेम्स एण्डरसन जस्ता बलरहरू तयार गर्न सक्नेछन्। ईंग्ल्याण्डको निम्ति टेस्ट क्रिकेटमा एण्डरसनपछि दोस्रो सर्वाधिक विकेट लिने पेस बलर ब्रडले बताएअनुसार, उनले ईंग्ल्याण्ड क्रिकेट टीमका प्रबन्धक रब की-सँग कुरा गरेका छन् अनि अण्डर-१७ तथा अण्डर-१९ खेलाड़ीहरू तयार गर्ने इच्छा व्यक्त गरेका छन्। टेस्ट क्रिकेटमा ६०४ विकेट लिने ब्रडले द टेलिग्राफ-सँग कुराकानीमा भनेका छन्, निश्चित रूपले म कोचिंगमा जोड़िन चाहन्छु। कार्यक्रम अनुकूल हुँदा म ईंग्ल्याण्ड टोलीका युवा बलरहरूसँग काम गर्न चाहन्छु अनि यसबारे रब की-सँग कुरा गरिसकेको छु। ब्रडले कोचिंगमा कदम राख्नको निम्ति कुनै समयसीमा तय गरेका छैनन् तर उनलाई आउँदो सालको शुरुवातसम्म कोचिंगमा सामेल हुने आशा रहेको छ। उनले भने, मैले कोचिंगको निम्ति कुनै लक्ष्य या तारीख या भविष्यबारे केही तय गरेको छुइनँ तर आउँदो सालदेखि म कोचिंगमा अधिक समय दिन सक्नेछु।
ब्रडको निम्ति कोचिंग नयाँ कुरा चाहिँ होइन। उनी लर्ड्समा अष्ट्रेलियाविरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनल अघि दक्षिण अफ्रिकी क्रिकेट टीमका बलिंग सल्लाहकार रहेका थिए। दक्षिण अफ्रिकाले पछिबाट अष्ट्रेलियालाई पराजित गरी वर्ल्ड टेस्ट च्याम्पियनशीप खिताब जितेको थियो। ब्रडको भनाइअनुसार, उनी ईंग्ल्याण्ड टीममा युवा पेस बलरहरूका विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। ब्रडको दोस्रो इच्छा असल क्रिकेट कमेण्टेटर बन्ने रहेको छ अनि उनी क्रिकेटरबाट कमेण्टेटर बन्ने भारतका रवि शास्त्रीको आवाज मन पराउँछन्। उनले भने, रिकी पोण्टिंगले खेलको असल विश्लेषण गर्छन्। यसबाहेक रवि शास्त्रीको बोल्ने तरिका राम्रो छ। म उनीहरूबाट धेरै कुराहरू सिक्छु। मेरो ध्यान कमेण्ट्रीमा पनि रहेको छ। म अहिले त्यस स्तरको कमेण्टेटर होइन तर बोल्दा म सहज अनुभव गर्छु।









