गान्तोक: आज ३४औं नेपाली भाषा मान्यता दिवस समारोह, नेपाली साहित्य परिषद्, सिक्किमको तत्वावधानमा राजधानीको मनन भवनमा सम्पन्न गरियो।
उक्त कार्यक्रममा राज्य ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती मुख्य अतिथि थिए।
विशिष्ट अतिथिहरूमा मन्त्री सोनाम लामा, विधायक दिले नामग्याल बर्फुङ्पा, विधायक सोनाम भेन्चुङ्पा, विधायक तेन्जिङ नर्बु लाम्था, पूर्व मन्त्री केएन लेप्चा आदि उपस्थित थिए।
कार्यक्रममा बाग्राकोट, डुवर्स निवासी वरिष्ठ चित्रकार एवं मूर्तिकार अमीर सुन्दासलाई ‘कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार २०२५’ ले अलङ्कृत गरियो। चित्रकार एवं मूर्तिकार सुन्दासलाई मुख्य अतिथि मन्त्री उप्रेती लगायत विशिष्ट अतिथिहरूको बाहुलीद्वारा अंगवस्त्र, अभिनन्दन पत्र, स्मृति चिन्ह अर्पण गरियो।
यसैगरी, १२ नाम्फिङ ग्राम पञ्चायत एकाईलाई यस वर्षदेखि पञ्चायत कार्यालयमा नेपाली भाषाको प्रयोग आधिकारिक भाषाको रूपमा शुरू गरिएकोमा परिषदद्वारा सम्मानित गरियो। यसैगरी, सिक्किम केन्द्रिय विश्वविद्यालयकी छात्रा शान्ति कुमारी छेत्रीलाई प्रेमलाल स्मृति शैक्षिक पुरस्कारद्वारा पुरस्कृत गरियो। नेपाली विषयमा सर्वाधिक अङ्क हासिल गरेवापत उनलाई पुरस्कृत गरिएको हो।
अलङ्कृत व्यक्तित्व अमीर सुन्दासले आफ्नो सम्बोधनमा कतिपय परिस्थितिहरूका कारण निराश बनेको अवस्थामा सिक्किमले आफूलाई सम्मानित गरेर पुन: चङ्गा बनाइदिएको बताए। उनले सम्मानको लागि नेपाली साहित्य परिषद, सिक्किमप्रति कृतज्ञता व्यक्त गरे। उनले पहिलो पटक वरिष्ठ साहित्यकार बद्रीनारायण प्रधानको मूर्ति बनाएपछि आफ्नो मूर्ति कलाको जीवन शुरू भएको जानकारी गराए। पुरस्कारले आफूलाई नयॉं कला उत्पादन गर्न प्रोत्साहन मिलेको पनि सुन्दासले आफ्नो सम्बोधनमा बताए।
मन्त्री उप्रेतीले भाषा आन्दोलनमाथि प्रकाश पार्दै भाषा सङ्ग्रामीहरूको योगदान अविस्मरणिय रहेको उल्लेख गरे। भाषा हाम्रो आत्मा हो भन्दै उनले नेपाली भाषाको संरक्षण र संवर्धनमा वर्तमान सरकारले पुऱ्याइरहेका योगदानहरूको विषयमा जानकारी गराए। उनले नेपाली भाषालाई समृद्ध बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने ठूलो जिम्मेवारी हामीहरूमाथि रहेको बताए। उनले नेपाली साहित्य पढ्ने बानी बनौं भनी आह्वान पनि गरे।
कार्यक्रममा अतिथिहरूको बाहुलीद्वारा विभिन्न पुस्तकहरू पनि लोकार्पण गरियो। यस अवसरमा भानु जयन्ती समारोह अन्तर्गत अन्तर विद्यालय सामूहिक नेपाली लोक नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूले नृत्य प्रस्तुत गरेर सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। नेपाली साहित्य परिषद, सिक्किमका अध्यक्ष हरि ढुङ्गलले स्वागत सम्बोधन राखेको कार्यक्रममा उपाध्यक्ष नवीन लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए।










