गान्तोक: नेपाली साहित्य परिषद, सिक्किमले ३४औं नेपाली भाषा मान्यता दिवस आज राजधानी गान्तोकमा पुरस्कार अलङ्करण समारोहको रुपमा पालन गऱ्यो। स्थानीय मनन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेती मुख्य अतिथि रहेका थिए। यसै अवसरमा वर्ष २०२५ को प्रतिष्ठित भानु पुरस्कार पनि प्रदान गरियो। राज्यका एक वरिष्ठ साहित्यकार शङ्करदेव ढकाललाई यस वर्षको भानु पुरस्कार प्रदान गरिएको छ। ज्ञात रहोस, नेपाली साहित्य परिष्द सिक्किमले नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वलाई प्रत्येक वर्ष १३ जुलाईको दिन भानु जयन्तीको अवसरमा यो पुरस्कार प्रदान गर्ने गर्छ। तर, यस वर्ष भानु जयन्तीको ठीक अघि पद्मश्री पुरस्कार प्रापक राज्यका एक वरिष्ठ साहित्यकार सानु लामाको निधनको कारण भानु जयन्ती कार्यक्रम रद्द गरिएकोले भानु पुरस्कार आज प्रदान गरिएको हो।
भानु पुरस्कारसँगै आज नेपाली साहित्य परिषद, सिक्किमले प्रत्येक वर्ष भाषा मान्यता दिवसको अवसरमा कलाकारिताका सादकहरूलाई प्रदान गर्दै आएको कृष्ण स्मृति पुरस्कार पनि प्रदान गरियो। यस वर्ष यो पुरस्कार पश्चिम बङ्गाल राज्यको बाग्रीकोट निवासी मुर्तीकार अमीर सुन्दासलाई प्रदान गरियो। यसको साथै भानु जयन्तीको दिन नै प्रदान गरिनुपर्ने विभिन्न सेवा श्री पुरस्कार पनि आज प्रदान गरियो जसमा अभिनारायण मिश्र र श्रीमती चन्द्र राईलाई भाषा सेवाश्री सम्मान, वाङ्दी छिरिङ लामालाई साहित्य सेवाश्री सम्मान, सीबी गुरुङलाई सङ्गीत सेवाश्री सम्मान, पुष्पराज अधिकारीलाई नाट्य सेवाश्री सम्मान, डिल्लीराम दुलाललाई पत्रकारिता सेवाश्री सम्मान, पारस नेचालीलाई चित्रकारिता सेवाश्री सम्मान र किरण लामालाई नृत्य सेवाश्री सम्मान रहेको छ। यस अतिरिक्त पछिल्ला केही वर्षदेखि भोटिया र लेप्चा भाषाको साहित्यमा उल्लेखनीय कार्य गर्ने साहित्यकारहरूलाई प्रदान गरिने गरेको भाषा गौरव सम्मान पनि आज प्रदान गरियो जसमा लेप्चा भाषा गौरव सम्मान श्रीमती पुष्पा छोडेन थोमस लेप्चा अनि भोटिया भाषा भाषा गौरव सम्मान येस्से रिञ्जिङ भोटियालाई प्रदान गरिएको छ। यसै क्रममा गत वर्षको बोर्ड परीक्षामा नेपाली भाषामा सर्वाधिक अङ्क ल्याउने विद्यार्थीहरू साथै भानु जयन्ती कार्यक्रमको अवसरमा आयोजित अन्तर विद्यालय सांस्कृतिक प्रतियोगिताका विजेता विद्यालयहरूलाई पुरस्कार पनि प्रदान गरियो। कार्यक्रमअवधि केही पुस्तकको विमोचन पनि गरियो।
कार्यक्रममा छोटो सम्बोधन राख्दै मन्त्री अरुण कुमार उप्रेतीले २० अगस्त १९९२ को दिन एउटा भाषाले मान्यता पाएको दिन मात्र नभएर सिङ्गो भारतीय नेपाली जातिको पहिचार र अस्मिता र अधिकाको सुरक्षा भएको दिन बताए। यस अवसरमा उनले सिक्किमका पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको विशेष सम्झना गर्दै भाषा आन्दोलनमा उनको योगदान र नेतृत्वको सराहना गरे। मन्त्री उप्रेतीले नेपाली भाषालाई करोड़ौं नेपाली भाषी भारतीयहरूको आत्मा बताए। भाषाले नै देशभरि छरिएर बसेका नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको उनको भनाइ रहेको छ।
कार्यक्रमलाई भानु पुरस्कार र कृष्ण स्मृति पुरस्कारले पुरस्कृत शङ्कदेव ढकाल र अमीर सुन्दासले पनि सम्बोधन गरे।