गेजिङमा ३४औँ नेपाली भाषा मान्यता दिवस

IMG-20250820-WA0130

गेजिङ: “नेपाली भाषाले मान्यता मायाले पाएको होइन, अधिकारले पाएको हो” पूर्व लोकसभा सांसद एवं भाषा संग्रामी दिलकुमारी भण्डारीले गेजिङमा आयोजित ३४औँ नेपाली भाषा मान्यता दिवस समारोहमा उक्त विचार राखिन्। समारोहका मुख्य अतिथि रहेकी पूर्व सांसद आफ्नो सम्बोधनको क्रममा निकै भावुक देखिइन्। उनले आफ्नो ऐतिहासिक संघर्ष र भाषा आन्दोलनको झलक स्मरण गर्दै नेपाली भाषा मान्यता प्राप्तिको यात्रालाई अधिकार विजयको प्रतीक बताइन्। उनले अघि भनिन्, इतिहासको पृष्ठमा नेपाली भाषा आन्दोलनको अलगै महत्व छ। भारतको संविधानले आठौँ अनुसूचीमा गाभ्ने औपचारिकता २० अगस्त १९९२ को दिन गरे तापनि त्यसभन्दा धेरै वर्षअघिदेखिनै भाषा आन्दोलन भएको थियो। पूर्व सांसद भण्डारीले १९५६ मा देहरादुनबाट आनन्दसिंह थापा, बिरबहादुर भण्डारी र नरेन्दसिंह रानाद्वारा भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई पेश गरेका पहिलो ज्ञापनपत्रको पनि स्मरण गराइन्। त्यसपछि भारतभरिका हजारौं नेपाली भषीको आवाजले १९९२ मा सफलता पाएको जानकारी पनि गराइन्। लामो भाषा आन्दोलनपछि अन्ततः २० अगस्त १९९२ मा संसदको सर्वसम्मतिले नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गर्ने निर्णय गरेको बताइन्। समारोहको मुख्य आकर्षण सांस्कृतिक शोभा यात्रा र सम्मान कार्यक्रम रहेको थियो। गेजिङको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा सिक्किम सरकारका श्रम विभागीय मन्त्री भिमहाङ सुब्बा, विधायक लोकनाथ शर्मा, जिल्लापाल कर्मा डी डेन्जोङ्पा, पद्मश्री केदार गुरुङ, साहित्यकारहरू, विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको बाक्लो उपस्थिति थियो। समारोहको शुरुवात सांस्कृतिक नौमती बाजा र देन्ताम टार स्कूलका विद्यार्थीहरूको पाइप ब्याण्डसहित बजार परिक्रमाबाट भएको थियो। आज सम्पन्न भव्य शोभा यात्रामा विभिन्न संघ संस्थाहरु, विद्यार्थीहरु, नागरिक समाजका प्रतिनिधिहरु सहभागी थिए। यसबीच समारोहमा चार प्रतिष्ठित साहित्यिक पुरस्कार प्रदान गरियो। यस अवसरमा वरिष्ठ नाटककार चुनीलाल घिमिरेलाई प्रतिष्ठित लालमान सञ्चरानी स्मृति पुरस्कार अर्पण गरियो। उनको नाटककृति “सिक्किमेली नाट्य यात्राको सय वर्ष अनि आफ्नै सार नाटक” कृतिका लागि अलङ्कृ गरिएको हो। यसरी नै बीबी मुरिङ्ला स्मृति पुरस्कार “सिङ्माङको घिउ” कृतिका लागि सिलगढ़ीका युवराज काफ्ले, लक्ष्मण–सावित्री गुरुङ स्मृति पुरस्कार मिजोराम निवासी लक्ष्मी मिनु, उपमान बस्नेत स्मृति पुरस्कार चक्रधर रुछिन्बोङलाई प्रदान गरिएको थियो। यसक्रममा युवा साहित्यकार धनसिंह विश्वद्वारा लिखित कथासङ्ग्रहको विमोचन पनि गरियो। समारोहमा विद्यार्थीबीच “कृत्रिम बुद्धिमत्ता रोजगारीका लागि हानिकारक छ वा छैन” विषयमा तर्कप्रतियोगिता सम्पन्न भयो। पीएमश्री कन्या वरिष्ठ माध्यमिक विद्यालय र पीएमश्री पेलिङ वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले दमदार वक्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विधायक लोकनाथ शर्मा र साहित्यकार चुनिलाल घिमिरेले पनि सम्बोधन गरेका थिए। जिल्लापाल कर्म डी डेन्जोङ्पालगायतले पनि कार्यक्रममा आफ्नो मन्तव्य राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement