मुख्यमन्त्रीले दिए बधाई
गान्तोक: सिक्किमकी १४ वर्षीया अभिष्ट बस्नेतले भुटानमा जारी साफ यू-१७ महिला फूटबल च्याम्पियनशीपमा भारतको पक्षमा उत्कृष्ट प्रदर्शन गरेकी छिन्। पाकिम जिल्लाकी अभिष्टले भारत यू-१७ महिला राष्ट्रिय फूटबल टीमको प्रतिनिधित्व गर्दै नेपालविरुद्धको उद्घाटन खेलमा दुई गोल गरेकी छन् जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चा दिलाएको छ। उक्त म्याच भारतले शुन्यको विरुद्ध ७ गोलले जितेको छ।
अविष्टको प्रदर्शनप्रति मुख्यमन्त्री प्रेमसिंह तमाङले हार्दिक बधाई दिँदै सामाजिक सञ्जालमा भनेका छन्, “यो सिक्किमका लागि गर्वको क्षण हो। अभिष्टले अन्तर्राष्ट्रीय म्याचमा केवल भारतको प्रतिनिधित्व गरिनन्, उनले मैदानमा आफ्नो पहिचान स्थापित गरिन्।” उनले अभिष्टको मेहनत, समर्पण र लगनशीलतालाई सिक्किमका भावी खेलाडीहरूका लागि प्रेरणादायी बताएका छन्।
उल्लेखनीय छ, भारतको राष्ट्रीय टोलीमा अविष्टको छनौट गत जून महिनामा भएको थियो। सानो ठाउँ पाकिमबाट आरम्भ भएको उनको फूटबल खेलको यात्रा अहिले भारतको राष्ट्रीय जर्सीसम्म पुगेको छ।
आजको एकतर्फी म्याचमा भारतले नेपाललाई शुन्यको विरुद्ध ७ गोलले धुलोपिठो पारेको छ। यसमा सिक्किमको अविष्टको दुई गोलको योगदान रहेको छ। उनले पूर्वार्धमा १६औं अनि उत्तरार्धमा ४१औं मनिटमा देशको निम्ति गोल गरिन्। यसरी नै भारतको पक्षमा गोल गर्ने अन्य खेलाड़ीहरू निरा चानु लोङदाम (२ गोल), अनुष्का कुमारी (२ गोल) अनि जुलन नोङ्गमैथेम (१ गोल) रहेका छन्।