गान्तोक: भारत सरकारको जनजाति मामिला मन्त्रालयको महत्वाकांक्षी कार्यक्रम आदि कर्मयोगी अभियानअन्तर्गत गत १८ अगस्तको दिन नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एउटा भेटघाट कार्यक्रममा सिक्किम राज्यलाई प्रितिनिधित्व गर्दै भारतीय जनता पार्टी, सिक्किमका दुई सदस्य, जनजाति मोर्चाका केन्द्रीय कार्यकारी सदस्य याप छिरिङ भोटिया र महिला मोर्चाकी सदस्य श्रीमती साङ्गे डोमा भोटियाले राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसित भेट गरे। उल्लेखनीय छ, यो कार्यक्रम देशभरिका जनजाति नेताहरूको राष्ट्रपतिसित विशेष भेटघाटको निम्ति आयोजना गरिएको थियो। यस विशेष अवसरमा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकोमा प्रदेश भाजपा-ले पार्टीका सदस्यहरूलाई बधाई दिएको छ।
राष्ट्रपतिसितको भेटघाटको अवसरमा याप छिरिङ भोटियाले अक्टोबर २०२३मा गएको विनाशकारी बाड़ी पछि उत्तर सिक्किमका जनजाति समुदायले भोग्न परिरहेका विभिन्न समस्यालाई उजागर गरेको सिक्किम प्रदेश भाजपाले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ। यसको निम्ति पार्टीले उनको प्रशंसा गरेको छ।