सिक्किम कम्पनी दर्ता ऐन १९६१ यथावत छः राज्यमन्त्री मल्होत्रा

IMG-20250819-WA0136

गान्तोक: सिक्किमममा लागू रहेको ‘सिक्किम कम्पनी दर्ता ऐन, १९६१’ मा कुनै कटौती वा असर नपरेको केन्द्र सरकारले जानकारी दिएको छ। यसका साथै संवैधानिक सुरक्षा धारा ३७१(एफ) अन्तर्गत यो ऐन अझ पूर्णरुपमा कायम रहेको सरकारले स्पष्ट पारेको छ। राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले उठाएको एउटा प्रश्नको जवाफमा केन्द्रीय कर्पोरेट मामिला तथा सड़क यातायात राज्यमन्त्री हर्ष मल्होत्राले कम्पनी ऐन, २०१३ सिक्किममा लागू नभएको जानकारी दिएका छन्।
मन्त्रीले स्पष्ट पारे अनुसार कम्पनी ऐन, २०१३ को धारा ४६५ मा सिक्किम कम्पनी दर्ता ऐन, १९६१ लाई खारेज गर्ने प्रावधान भए पनि सन् २०१३ मा संसदमा गरिएको आश्वासनअनुसार राज्य सरकारसँग छलफल नगरी यो लागू गर्न सकिँदैन। यसका लागि मन्त्रालयले सिक्किम सरकारलाई पटक–पटक पत्र पठाइसकेको तर अजसम्म सहमति प्राप्त नभएको मन्त्रीले थप बताएका छन्।
तथापि सिक्किममा गलत तरिकाले दुई कम्पनी दर्ता भएको उनको भनाइ छ। राज्यमन्त्रीले दिएको जानकारीअनुसार ट्रिप अफ लाइफटाइम ट्राभलट्रेक प्राइवेट लिमिटेड र पाण्डिम अनलाइन सलुशन प्राइवेट लिमिटेडले गल्तीपूर्वक सिक्किमलाई दर्ता कार्यालय ठेगाना देखाएर कम्पनी ऐन, २०१३ अन्तर्गत दर्ता भएका छन्। यसबारे सम्बन्धित अधिकारीहरूमाथि प्रशासनिक कार्यावीह भइरहेको जानकारी गराइएको छ।
उल्लेखनीय छ, सिक्किम कम्पनी ऐन, १९६१, सिक्किम सुरक्षा कवच धारा ३७१(एफ) अन्तर्गत सुरक्षित गरिएका कानुनहरूमध्ये एक हो र यसमाथि कुनै आँच नआएको राज्यमन्त्रीको भनाइले स्पष्ट पारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement