सोरेङ: यतिबेला पश्चिम जिल्लाअन्तर्गत विभिन्न ग्रामीँण क्षेत्रमा जङ्गली जनवार बदेलले कृषकहरुको अन्नबाली, खेतीपाती उठाइसकेको अवस्था छ। गाउँ-गाउँमा पसेर बदेलले एकै रातमा मकैबारी सखाप पारिदिएको जनगुनासो आइरहेको छ। सरकार र वन विभागले विषेश गरि बदेलको रगरगी रोक्नलाई अब ठोस पहल अप्नाउनु पर्छ भन्ने माग पनि उठिरहेको छ। कृषकहरुलाई जङ्गली जन्तुले हैरान पारेको हुँदा आजकल धेरै ठाउँमा खेतीपाती गर्न समेत छोडेको अवस्था छ। केही दिन अघिदेखि सोरेङ जिल्लाको दोदक गाउँ छेउछाउमा चितुवा र बदेलले गाउँलेहरु ठूलो नोक्सानी गरिदिएको छ। दोदक डाँडा खर्क निवासी टेकबहादुर गुरुङको केही दिन अघि चितुवाले बाख्रा खसी मारिदिएको थियो भने आज राति बदेलले मकैबारी नै उठाइदिएको छ। यो सप्ताह भित्र मात्रै चितुवाले दोदकमा तीनवटा बाख्रा मारेका छन्। धनबहादुर गुरुङ र तील बहादुर गुरुङको बाख्रा मारेको खुन सुकिसकेको छैन अहिले पनि। बदेल, चितुवा, भालु, स्याल, दुम्सी, मजुरबाट गाउँलेहरुले कति दिनसम्म खेतीपाती र घरेलु जन्तुलाई जोगाउने? हत्तुहैरान बनाइसकेको अवस्थामा गाउँलेबाट यस्तो प्रश्न उठ्नु स्वाभाविक भएको छ।
वन विभागबाट प्राप्त हुने क्षतिपूर्ति आँसु पोछ्ने बाहेक केही पनि हुँदैन। पीडितले नै क्षतिपूर्तिको निम्ति आवेदन गर्नुपर्ने, विभागको कर्मचारीलाई स्थलगत निरीक्षणको निम्ति निम्तो दिनु पर्ने, फोटो खिचेर बुझाउनु पर्ने, पञ्चायतकोमा सिफारिसको लागि जानुपर्ने जस्ता झन्झटको कारण गाउँले कृषकहरु वन विभागप्रति आशा गर्नेछन् तर भरोसा गर्दैनन्। ग्रामीण कृषकहरुको पसिनाको कमाईलाई जङ्गली जन्तुबाट बचाउन वन विभागले स्थायी उपाय निकाल्न सक्तैनन्? भन्ने प्रश्न उठाउँदै गाउँलेहरु आक्रोशित छन्।