एसयूको विद्यार्थीले दिएको अपमानजनक टिप्पणीमाथि गेजिङमा विरोध

IMG-20250819-WA0134

गेजिङ: सिक्किम विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थी राज शेखरले नेपाली भाषा र नेपाली भाषी समुदायमाथि गरेको अपमानजनक टिप्पणी सार्वजनिक भएपछि सम्पूर्ण सिक्किमेली समाज आक्रोशित बनेको छ। उनले आधिकारिक वाट्सएप ग्रुपमार्फत नेपाली भाषालाई “विदेशी भाषा” भनेका मात्र होइन, नेपाली बोल्न चाहनेहरूलाई “नेपाल जाने” समेत सुझाएको घटनाले समाजभरि गहिरो रोष उत्पन्न गरेको छ। यस घटनाको घोर भत्सर्ना गर्दै पश्चिम सिक्किम साहित्य प्रकाशनका अध्यक्ष रिकी लमू लेप्चाले आपत्ति जाहेर गरिन्। साथै नेपाली भाषा मान्यता दिवस समारोह समिति गेजिङका अध्यक्ष नारायण खतिवडा लगायत कार्यकारी समितिले संयुक्तरूपमा एक सामुहिक सभा डाकी आपत्ति प्रकट गरेको हो। नेपाली भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त राष्ट्रिय भाषा हो। यसलाई विदेशी भाषा भन्नु अज्ञानताको पराकाष्ठा मात्र नभई विभाजनकारी मानसिकताको खतरनाक रुप रहेको बताएका छन्। समितिहरूले विश्वविद्यालय प्रशासनलाई तुरुन्त यस विषयमा गम्भीर कदम चाल्ने आह्वान गर्दै विद्यार्थी राज शेखरलाई तत्काल कारबाहीको दायरामा ल्याउने माग गरेको छ। यता, नेपाली भाषा आन्दोलनका अगुवा, लेखक, कवि तथा सामाजिक अभियन्ताहरूले समेत यस घटनाप्रति गहिरो असन्तोष प्रकट गर्दै नेपाली भाषा–साहित्य र संस्कृतिमाथि कुनै पनि प्रकारको अपमान सह्य नहुने चेतावनी दिएका छन्। समाचार लेख्नुञ्जेलसम्म उक्त विद्यार्थी राज शेखरलाई पक्राउ गरेको जानकारी आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement