गान्तोक: सिक्किम अकादमीले आउँदो २२ अगस्तमा भारतमा पुस्तकालय विज्ञानका जनक मानिने डा. एसआर रंङ्गनाथनको जन्मजयन्तीका अवसरमा चिन्तन भवनमा राष्ट्रिय पुस्तकालया दिवस मनाउने तयारी गरेको छ। उक्त दिनको कार्यक्रममा विज्ञहरूले पुस्तकालय, शिक्षा र राष्ट्रिय विकाससँग सम्बन्धित विषयहरूमा विचार–विमर्श गर्नेछन्। जसमा राष्ट्रिय शिक्षा नीति [एनईपी] २०२० अन्तर्गत पुस्तकालयहरूको भूमिकामा जोड दिइनेछ। यस कार्यक्रममा सिक्किम अकादमीले विभिन्न महाविद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूका साथै शिक्षाविद्, पुस्तकालयाध्यक्ष र अनुसन्धानकर्ताहरूलाई आमन्त्रण गरेको छ। आज दिउँसो यहाँ आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम अकादमीका अध्यक्ष एस.आर. सुब्बाले राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक वर्ष अगस्त १२ मा डा. एसआर रङ्गनाथनको योगदानको सम्मानमा मनाइने जानकारी दिए। उनले भने कि सिक्किम अकादमीले गत वर्षदेखि यो कार्यक्रम मनाउन शुरु गरेको भए पनि केही कारणले यस वर्षको कार्यक्रम अगस्त २२ सम्म स्थगित गरिएको हो। उनले भने, “हामी अब नरबहादुर भण्डारी डिग्री कलेजको सहकार्यमा अगस्त २२ मा राष्ट्रिय पुस्तकालयाध्यक्ष दिवस मनाउन पूर्ण रूपमा तयार छौं। मुख्यतः पुस्तकालय विज्ञानबारे जनचेतना जगाउन, विशेष गरेर महाविद्यालयका विद्यार्थीहरूबीच जागरुकता गराउने लक्ष्य राखेर कार्यक्रम आयोजन गर्ने बताए। यस अवसरमा डा. मनोज राणा (एनईएचयू शिलङ) र एनईपी समितिका अध्यक्ष, सिक्किम विश्वविद्यालयको प्रोफेशनल स्टडीज स्कूलका डीन तथा शिक्षा विभाग प्रमुख प्रा. योदिदा भोटिया लगायतका विज्ञहरूले व्याख्यान दिने जानकारी गराए।
सुब्बाले आधुनिक समयमा मानिसहरूले पुस्तकालयलाई केवल पुस्तकहरूको भण्डार मात्र ठान्ने गरेको तर नयाँ शिक्षा नीतिमा विद्यार्थीहरू पुस्तकालय विज्ञानमा दक्ष हुनुपर्ने स्पष्ट रूपमा उल्लेख गरिएको बताए। उनले यस्तो उत्सवले सिक्किमी समाजमा पुस्तकालय विज्ञान र पुस्तकालयहरूको महत्वबारे जनचेतना फैलाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। यस पत्रकार सम्मेलनलाई सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जन र सचिव [प्रशासन] पीएल शर्माले पनि सम्बोधन गरे।