पाकिम: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक एवं महिला, बाल, वरिष्ठ नागरिक अनि दिब्याङजन कल्याण विभागकी सल्लाहकार पामिन लेप्चाले आज बढापाथिङ गाउँको सडक सम्पर्कलाई लिएर निरीक्षण गरिन्। उल्लेखनीय छ, गत केही दिनदेखि निरन्तर परेको पानीले क्षेत्रको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएपछि स्थानीयहरूलाई यातायातमा व्यापक समस्या उत्पन्न भएको घटनालाई ध्यानमा राख्दै विधायक लेप्चाले यो निरीक्षण भ्रमण गरेकी हुन्।
निरीक्षणको क्रममा विधायक लेप्चासँग महकूमा अधिकारी डाकमान सुब्ब लगायत अन्य सम्बन्धित अधिकारीहरू पनि सामेल थिए। यस अवसरमा विधायक लेप्चाले नालान्दा इन्गिकोन प्राइभेट लिमिटेड कम्पनीका अधिकारीहरूसँग अन्तक्रिया गर्दै जन मानसको निम्ति शीघ्र प्रभावित क्षेत्रमा सार्वजनिक आवागमनका लागि सम्भावित विकल्प तयार पार्ने निर्देश दिएकी छन्। उनले सडक अवरोधका कारण उत्पन्न चुनौती बारेमा पनि जानकारी लिइन्। विधायकले सुरक्षालाई प्राथमिकता दिन र स्थानीयहरूलाई यात्राको लागि पहुँचयोग्य मार्गहरू सुनिश्चित गर्नुपर्ने विषयमाथि विशेष जोर दिएकी छन्।
अर्कोतिर विधायक श्रीमती लेप्चाले सम्बन्धित निकायलाई यस जोखिमपूर्ण अवस्थालाई प्राथमिकता दिँदै तत्काल कामहरू गर्न निर्देश दिएकी छन्।