गान्तोक: नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङले आफ्नो पूर्वविद्यार्थी मिलन विश्वकर्मालाई समर्थन जनाउन ‘मिलन फ्यान क्लब’ गठन गरेको छ। उल्लेखनीय छ, मिलन अहिले छिमेकी राष्ट्र नेपालमा आयोजना भइऱहेको रियालिटी शो नेपा आइडल, सिजन-६ को सेमीफाइनल चरणसम्म पुग्न सफल भएका छन्।
नवगठित क्लबले महाविद्यालय भित्र र बाहिर कोष सङ्कलन तथा जनचेतना अभिवृद्धि अभियान सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट सेमीफाइनल चरणमा मिलनलाई पर्याप्त भोट प्राप्त हुने र सामुदायिक समर्थन सुनिश्चित हुने विश्वास राखेको छ। यस अभियानलाई प्राचार्य डा. डी पुरोहित (क्लबका संरक्षक), सहप्राध्यापक डा. टासी टी भोटिया (समन्वयक) तथा सहप्राध्यापक डा. दीपक अधिकारी (सदस्य) को मार्गदर्शन रहनेछ। क्लबमा व्यावसायिक शिक्षा, शारीरिक शिक्षा साथै अन्य विभागहरूबाट विद्यार्थी प्रतिनिधि समावेश गरिएको छ, जसले कलेजको एकताबद्ध भावना प्रकट गर्दछ।
साधारण पारिवारिक पृष्ठभूमिबाट आएका मिलन् विश्वकर्मा पहिले नै द भ्वाइस अव् एनबीबीजीसी २०२३ का विजेता तथा सिक्किम आइडल (सिजन १) का फाइनलिस्ट भइसकेका छन्। बहुआयामिक प्रतिभा र उत्साहका धनी मिलन विश्वकर्माले आफ्नो साङ्गीतिक यात्राद्वारा धेरैलाई प्रेरित गर्दै आएका छन्। सिक्किमका उदारहृदयी नागरिकहरू तथा विश्वभरका सङ्गीतप्रेमीहरूको सहयोगले मिलनले नेपाल आइडल, सिजन-६ को प्रतिष्ठित उपाधि जितेर आफ्नो राज्य र मातृसंस्थालाई गौरवान्वित बनाउन सक्नेछन् भन्नेबारे विद्यालयले विश्वास व्यक्त गरेको छ।
यस अवसरमा बोल्दै प्राचार्यले यस्तो प्रतिभालाई प्रश्रय दिन महाविद्यालयले पाएको भूमिकाप्रति गर्व व्यक्त गर्दै भने, “मिलन केवल विद्यार्थी मात्र होइनन्, उनी समर्पण, विनम्रता र सङ्गीतमय प्रतिभाको प्रतिमूर्ति हुन्। उनलाई समर्थन गर्नु हाम्रो दायित्व मात्र नभई गौरव पनि हो। उनको सफलता एनबीबीजीसीको गौरवशाली इतिहासको साँचो उत्सव हुनेछ।”
मिलन फ्यान क्लबले यस अभियानलाई अझ व्यापक बनाउन राज्यका विभिन्न क्षेत्रमा पनि प्रचार–प्रसार गर्नेछ र समुदायगत सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।